२८ श्रावण २०८३, बिहिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तेह्रथुमको आठराईमा अग्नीपीडितलाई गाउँपालिकाद्वारा राहत वितरण

प्रकाशित मिति :  18 March, 2024 10:30 am


तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–एक, पुरानागाउँमा शनिबार भएको आगलागीका पीडितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको छ ।

पीडितलाई तत्काल आवश्यक पर्ने राहत र उद्धारका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।

आगलागीबाट पीडित फणिन्द्र गौतम र देवी गौतमको परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनुभयो । विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम गाउँपालिकाले पीडितहरूलाई तीस हजार रुपैयाँ नगद, ५० केजी चामल, पाँच केजी दाल, दुई केजी नुन, ७५० ग्राम मसला, खाने तेल १० लिटर, चाउचाउ एक कार्टुन, प्याज दुई केजी, आलु पाँच केजी, चिनी दुई केजी सिरक एक थान, डसना एक थान, तन्ना एक थान र त्रिपाल एक थान उपलब्ध गराएको हो ।

आइतबार पीडितहरूलाई गाउँमै पुगेर गाउँपालिका अध्यक्ष पाहिम, उपाध्यक्ष बलिराज इङनाम, वडा नं. एक का अध्यक्ष प्रेमराज फोम्बो, वडा नं. तीन का अध्यक्ष बुद्धि गुरुङ, वडा नं.६ का अध्यक्ष एवम् प्रवक्ता कृष्णप्रसाद बाँस्कोटा, प्रमुख प्रशासकीय अधिकृत निराज शर्मा लगायतले राहत वितरण गर्नुभयो ।

शनिबार दिउँसो कोयाखोला नजिकको जंगलबाट अचानक सुरु भएको आगोले पुरानागाउँका चार परिवारका तीन घर र दुई वटा गोठ नष्ट गरेको थियो ।

आगलागीले गणेश गौतम, बलराम गौतम, देवी गौतम र गोविन्द गौतमका तीन वटा घर र एउटा गोठ जलेर नष्ट भएका थिए । गणेश गौतम र बलराम गौतमको घरमा बन्धकीमा फणेन्द्र गौतमको चार जनाको परिवार बस्दै आएको थियो ।

देवी गौतमको घरमा दुई जना बस्दै आएका थिए । गोविन्द गौतमको घरमा भने काठपातमात्रै राखिएका थिए । आगलागीले एक करोड २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !