छुवाछूत र विभेदको अनौठो इतिहास, दुःखद वर्तमान
-मिना विश्वकर्मा-
आधा शताब्दी अघि युरोप जाने मानिसले नेपाल फर्किएपछि विभिन्न धार्मिक विधिविधान गरेर चोखिन पथर््यो । किनभने युरोप जानेले विधर्मी इसाई म्ल्ेच्छले छोएको खान्थ्यो, त्यसरी खाएपछि विटुलो हुन्थ्यो, चोखिन पर्थ्याे ।
अहिलेको पुस्तालाई अचम्म लाग्छ होला यस्ता इतिहास सुनेर । नेपालमा जातीय विभेद र छुवाछूत घटेको छ तर नष्ट भएको छैन । आधा शदी पछिको पुस्ताले नेपालमा यो समय खण्डमा छुवाछूत हुन्थ्यो भन्ने इतिहास पढ्दा पक्कै अचम्म मान्नेछ ।
छुवाछूत र विभेद भविष्यमा रहने छैन । यो निश्चित छ । भविष्यमा रहँदैन भने यति नराम्रो र अमानवीय कुप्रथालाई अहिले नै किन नहटाउने ? छुवाछूत मान्ने हरेक मानिसले यो कुरालाई गम्भीरतासाथ लिन जरुरी छ ।
छुवाछूत र विभेद प्राचीन कुप्रथा हो । यो कुप्रथा नेपालमा अझै बाँकी छ । छुवाछूत र जातीय विभेद दिवस मनाइरहँदा नेपालका लाखौं नागरिक सामाजिक विभेदको पीडा भोगेर बाँच्न विवश छन् ।
जातीय विभेद विरुद्धको दिवस मनाउँदा दक्षिण अफ्रिकाको सार्पभिले गाउँलाई सम्झनुपर्ने हुन्छ । सन् १९६० मार्च २१ मा सो गाउँमा रंगभेदको विरोध गर्दै करिब तीन हजार स्थानीयले शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । गोरा शासकका प्रहरीले प्रदर्शनमा अन्धाधुन्ध गोली चलाए । ६९ जनाको ज्यान गयो । त्यो हत्याकाण्ड कति नृशंस थियो भने दुई मिनेटमा १७ सय भन्दा धेरै गोली हानिएका थिए । त्यति धेरै गोली हान्दा ६९ जना मात्र मारिए, अझ धेरै मारिनुपथर््यो भनेर गोरा शासकहरुले छलफल गरेका थिए ।
त्यो भयानक हत्याकाण्डले विश्वलाई हल्लाइदियो । सन् १९६६ मा संयुक्त राष्ट्रसंघले सार्पभिले हत्याकाण्ड भएको दिनलाई जातिभेद तथा रंगभेद विरुद्धको विश्व दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । साँढे पाँच दशकदेखि जातिभेद विरुद्धको दिवस मनाइँदै छ । नेपालमा पनि पछिल्लो कालमा यो दिवस बाक्लैसँग मनाइन थालेको छ ।
जातिभेद विरुद्धको दिवसका दिनमा संसद्को दुवै सदनको वैठक परेन । वैठकको अघिल्लो दिन मंगलबार प्रतिनिधि सभामा एकजना सांसद्ले मात्र यो दिवसका बारेमा बोल्नुभयो । रघुजी पन्तले यसबारे बोल्नुभएको थियो ।
जातीय विभेद तथा छुवाछूत विरुद्धको दिवसका अवसरमा उत्पीडित समुदायका विभिन्न संघसंस्थाले कार्यक्रम आयोजना गर्छन् । यस वर्ष पनि देशभरी कार्यक्रमहरु हुनेछन् । नेपालको सन्दर्भमा अनौठो के देखिन्छ भने यस्तो दिवस छुवाछूत गर्ने भनिएको समुदायका अगुवाहरुले मनाउनुपर्ने हो । परम्परागत रुपमा मुख्य गरी ब्राम्हण र क्षेत्र समुदायका मानिसले छुवाछूत र जातीय विभेद गर्दै आएका छन् । आधुनिक, प्रगतिशील, शिक्षित र मानवीय भावना बोकेका तथा युवा पुस्ताका क्षेत्री ब्राम्हणले जातीय विभेद र छुवाछूत पटक्कै मान्दैनन् । तैपनि समाजमा यो कुप्रथा निक्कै बलियो छ । जातिभेद विरुद्धको दिवस क्षेत्री ब्राम्हण समुदायका विभिन्न संघसंस्थाले मनाउनुपर्ने हो तर मनाएको देखिँदैन ।
दलित तथा विभिन्न उत्पीडित समुदायले यो दिवस मनाउँछन् र अतिथीका रुपमा क्षेत्री ब्राम्हण समुदायका प्रगतिशील अगुवाहरुलाई बोलाउँछन् । त्यस्ता प्रगतिशील अगुवाहरुले छुवाछूत र विभेद मान्दैनन्, त्यसैले उनीहरुले छुवाछूत र विभेद विरुद्ध ह्रदय खोलेर अभिव्यक्ति दिन्छन् । त्यो सुनेर उत्पीडितहरु ताली पिट्छन् । यति हुँदाहुँदै पनि समाजबाट छुवाछूत र जातीय विभेद उन्मुलन भएको छैन, किन ?
पटकपटक जारी भएका संविधानहरुले, दर्जनौं कानुनहरुले, विभिन्न सरकारी घोषणाहरुले नेपालमा छुवाछूत र जातीय विभेद उन्मुलन गरिसकेको छ, तैपनि किन समाजमा अझै विभेद, उत्पीडन र छुवाछूत बाँकी नै छ ? किन अहिले नै छुवाछूत र जातीय विभेद तथा उत्पीडन इतिहासको किताबको विषय बन्न सकेन ? सबैले गहिरोसँग सोच्नुपरेको छ ।
जातीय विभेद र छुवाछूत उन्मुलन गर्न उत्पीडित समुदायले पनि ठोस रुपमा केही गर्न जरुरी छ । उत्पीडित समुदायले मुख्य दुईटा काम गरेर छुवाछूत र विभेद उन्मुलन गरेर मुक्ति पाउन सक्छन् । मुख्य काम भनेको दुईटा ‘स’ हो । एउटा स शिक्षा हो, अर्काे स स्वालम्वन हो । शिक्षा र स्वालम्बनले मात्र उत्पीडित समुदायले आफ्नो सामाजिक अवस्था सुधार्न सक्छ ।
हुनत उत्पीडित समुदायका लागि राज्यले आरक्षणको व्यवस्था गरेको छ । आरक्षण दिएपछि उत्पीडित समुदायप्रतिको कर्तव्य र दायित्व सकिएको सोचाई राज्य सञ्चालकहरुमा देखिन्छ । उत्पीडित समुदायमा पनि आरक्षण पाइयो, अब सबैथोक भयो भन्ने सोचाई रहेको अनुभूति हुन्छ । आरक्षण स्थायी समाधान होइन, आरक्षणले आत्मनिर्भरताको बाटो छेक्छ भन्ने पनि बुझ्न जरुरी छ । आरक्षण अल्पकालीन समाधान हो, उत्पीडित समुदायका लागि दीर्घकालीन समाधान भनेको सामाजिक मानसिकतामा परिवर्तन, शिक्षा र स्वालम्बन नै हो ।
यो लेखको सुरुमै लेखियो आधा शदी अघि युरोप जानेले फर्किएपछि के गर्नुपथर््यो भन्ने बारेमा । अहिले यूरोपबाट फर्कनेले के गर्नुपर्छ ? हामी सबैलाई थाहा छ, युरोपबाट फर्कने विटुलो हुँदैन, उ झन् चोखो हुन्छ, सम्मानित हुन्छ, यूरोप गएर फर्कनेहरुको समाजमा झन् धेरै मानसम्मान हुन्छ । किनभने यूरोप धनी छ । यूरोपसँग सम्पत्ती मात्र छैन, शिक्षा र प्रविधि पनि छ । विगतमा मुसलमानलाई पनि नेपाली समाजका ठालूहरुले म्ल्ेच्छ भन्थे, उनीहरुलाई पनि छुवाछूत गरिन्थ्यो । तर आज खाडीका मुस्लिम देशहरुमा जान तछाडमछाड छ, मुस्लिमले छोएको खाँदा विटुलो भइँदैन । किनभने उनीहरु धनी छन्, रोजगार दिन्छन् ।
समुद्र पारीका मानिसहरुलाई छुवाछूत गर्न छाडियो तर आफ्नै गाउँ टोलका मानिसलाई चाहिँ छुवाछूत र विभेद गर्ने अमानवीय कुप्रथा जिवित राखिएको छ ।
समुद्र पारका मानिसहरु अछूतबाट प्रमोसन भइसके । किनभने उनीहरुसँग शिक्षा र सम्पत्ती छ । नेपालमा छुवाछूत र जातीय विभेद हटाउन राज्यले गर्नुपर्ने काम विभिन्न होलान्, समाजले गर्नुपर्ने काम पनि विभिन्न होलान् तर उत्पीडित समुदायले गर्नुपर्ने काम पनि धेरै छन् ।
उत्पीडित समुदायले शिक्षा र स्वालम्वनलाई मूलमन्त्र बनाउनुपर्छ । यो समुदायले शिक्षालाई सबैभन्दा धेरै प्राथमिकता दिनुपर्छ । उत्पीडित समुदायले स्वालम्वी बन्नुपर्छ । उद्योग, व्यवसाय, व्यापार गर्नुपर्छ । समाजको आवश्यकतालाई पहिचान गरेर उद्योग व्यवसाय गर्नुपर्छ । शिक्षित र स्वालम्बी बनेपछि उत्पीडनको हिम्मत गर्दैनन्, यो कुरा बुझ्नुपर्छ ।
अर्काे कुरा, आरक्षण स्थायी हुँदैन । आरक्षण अधिकार होइन, सुविधा हो । भविष्यमा आरक्षण नै नचाहिने अवस्थामा उत्पीडत समुदाय पुग्नुपर्छ । उत्पीडित समुदायले के बुझ्नुपर्छ भने छुवाछूत र विभेदका लागि कोही व्यक्ति या खास समुदाय जिम्मेवार छैन । छुवाछूत र विभेदका लागि धर्म विशेष पनि जिम्मेवार छैन । धर्म भित्र पनि विकृति छ, विकृतिलाई नै धर्म मान्ने गल्ती गर्न हुँदैन । धर्म र अधर्म, संस्कृति र कुसंस्कृतिलाई मिसाउने गल्ती कसैले गर्न हुँदैन । छुवाछूत र विभेद अधर्म हो, कुसंस्कृति हो । अधर्म हटाएर धर्मलाई पवित्र बनाउँदै लानुपर्छ, कुसंस्कृतिलाई हटाएर संस्कृतिलाई सफा बनाउँदै अघि बढ्नुपर्छ ।
उत्पीडित समुदायले मात्र नभएर कसैले पनि जातीय तथा साम्प्रदायिक भावना बोक्ने, त्यस अनुसार राजनीति गर्ने काम गर्न हुँदैन । उत्पीडित समुदायका व्यक्तिहरुले आफ्नो समुदायको मात्र नेतृत्व गर्छु भन्ने सोच्नु हुँदैन । सबैको नेतृत्व गर्न सक्छु भन्ने आँट र आत्मविश्वास बोक्नुपर्छ । सबै समुदायमा असल मानिस छन्, खराब मानिस समाजमा थोरै मात्र छन् । जातीय विभेद र छुवाछूत मान्ने मानिस थोरै मात्र छन्, ती थोरै मानिसलाई देखाएर पूरै समुदायलाई दोषारोपण गर्ने गल्ती गर्न हुँदैन ।
मुख्य कुरा, राजनीतिक संस्कृति पनि सुधार गर्नुपर्छ । उत्पीडित समुदायलाई आरक्षणका नाममा खुद्रा भाग दिने, निर्णायक ठाउँमा उत्पीडित समुदायलाई ठाउँ नदिने प्रवृत्ति देखिन्छ । जस्तो कि अहिलेको मन्त्रिमण्डलमा दलित समुदायको उपस्थिति छैन । प्रदेश सरकारहरुमा पनि दलितको उपस्थिति लगभग छैन भने पनि हुन्छ । पालिका प्रमुख उपप्रमुख र वडा अध्यक्षमा पनि दलितको उपस्थिति अत्यन्तै न्यून छ । निर्णायक र नीति निर्माण गर्ने ठाउँमा उत्पीडित समुदायको उपस्थितिले समाजमा सकारात्मक प्रभाव पर्छ । उत्पीडित समुदायका व्यक्तिहरुको नेतृत्व स्वीकार्न पनि समाज तयार बन्नुपर्छ । यसमा राजनीतिक नेतृत्वको मुख्य भूमिका हुन्छ ।
आरक्षण, संविधान, कानुन, सरकारी निर्णयले मात्र छुवाछूत र जातीय विभेद निमिट्यान्न पार्न नसकिने रहेछ भन्ने प्रष्ट भइसकेको छ । यसका लागि सामाजिक चेतना विस्तार, व्यापक जागरण चाहिन्छ । यो कामको अगुवाई देश र समाजका अगुवाहरुले नै गर्नुपर्छ । तसर्थ, आगामी वर्षहरुमा समाज र देशका अगुवाहरुले जातीय विभेद तथा छुवाछूत दिवस मनाउने र त्यसमा आमन्त्रित चाहिँ उत्पीडित समुदायका मानिसहरु भएको देख्न पाइयोस् ।