११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रत्नपार्कमा हप्तादिनदेखि धर्ना बसेका दीपक भण्डारीको माग पुरा गर्न अपांग संघको माग

प्रकाशित मिति :  १३ चैत्र २०८०, मंगलवार ११:५८


काठमाडौं । काठमाडौंको रत्नपार्क, शान्ति बाटिकामा हप्तादिनदेखि पूर्ण अशक्त अपांगता भएका दीपक भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्ना मंगलबार पनि जारी छ ।

धर्नाका क्रममा उठाइएका मागहरुका बारेमा राष्ट्रिय लोकतान्त्रिक अपांग संघले ऐक्यबद्धता जनाएको छ ।

अध्यक्ष प्रकाश पन्तले मंगलबार एक विज्ञप्ति जारी गर्दै भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्नाका सम्बन्धमा ध्यानकर्षण भएको जनाए । उहाँले विज्ञप्तिमा भनेका छन्,‘प्रचलित कानुनमा व्यवस्था भएबमोजिम पूर्ण र अतिअशक्त अपांगता भएका व्यक्तिलाई आवश्यकताका आधारमा राज्यले सहयोगी सेवा र सामग्री उपलब्ध गराउनुपर्ने मागसहित काठमाडौंको रत्नपार्क, शान्ति बाटिकामा हप्तादिनदेखि पूर्ण अशक्त अपांगता भएका दीपक भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्नाका सम्बन्धमा नेपाली काङ्ग्रेसको भ्रातृसंस्था ‘राष्ट्रिय लोकतान्त्रिक अपांग संघ’ को ध्यानाकर्षण भएको छ । यो संघ उक्त धर्ना र आन्दोलनको पूर्ण समर्थन गर्दै ऐक्यबद्धता जनाउँदछ ।’

पटक पटकका आन्दोलन र अभियानको सफलतासँगै संविधान सभाबाट संविधान जारी भएको झन्डै एक दशक बितिसक्दा पनि संवैधानिक तथा कानुनी हक र अधिकार प्राप्तिका लागि अझै पनि आन्दोलन गर्नुपर्ने अवस्था आउनु लोकतान्त्रिक तथा लोककल्याणकारी राज्यका लागि लज्जाको विषय भएको अध्यक्ष पन्तको भनाइ छ । संविधानतः आर्थिक, सामाजिक, शारीरिक रूपमा कमजोर र जोखिमको अवस्थामा रहेका नागरिकहरूको विशेष व्यवस्थासहित संरक्षण गर्नु राज्यको दायित्व भएको उहाँले बताउनुभयो ।

‘अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा नियमावली २०७७, नेपाल पक्ष राष्ट्र भएको अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी महासिन्ध, २००६ मा व्यवस्था भएका प्रावधानहरू लागू गरियोस् भन्दै विभिन्न निकायमा पटक पटक आन्दोलन गर्दा समेत माग पूरा हुन नसक्नु गैरजिम्मेवारी, विडम्बनापूर्ण र मानवअधिकारको गम्भीर उल्लंघन समेत हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

अनिश्चितकालीन धर्नामा बस्नुभएका भण्डारीलगायत अपांघता भएका व्यक्तिहरूले उठाएका मागहरूप्रति नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै उक्त मागहरू छिटोभन्दा छिटो सम्बोधन अध्यक्ष पन्तले सरकारसँग माग गरेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !