३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्लोभाकिया राष्ट्रपति चुनावमा पेलेग्रिनीको जीत

प्रकाशित मिति :  २५ चैत्र २०८०, आईतवार १४:३०


ब्राटिस्लाभा । स्लोभाकियाको तथ्याङ्क कार्यालयले स्लोभाकियाको राष्ट्रिय परिषद्का वर्तमान सभामुख पिटर पेलेग्रिनीले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा विजय हासिल गरेको जानकारी गराएको छ ।

कूल मतको ९९ प्रतिशत मतगणना भइसकेको र यसबाट पेलेग्रिनीले ५३.३८ प्रतिशत र पूर्व विदेशमन्त्री इभान कोर्कोकले ४६.६१ प्रतिशत मत पाउनुभएको देखिएको छ ।

पेलेग्रिनीले सन् २०१८ देखि २०२० सम्म स्लोभाकियाको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो भने कोर्कोकले २०२० देखि २०२२ सम्म देशको विदेश मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

मार्च २३ मा भएको नौ जना उम्मेदवारहरू सम्मिलित पहिलो चरणको निर्वाचनमा कोर्कोकले ४२.५१ प्रतिशत र पेलेग्रिनीले ३७.०२ प्रतिशत मत पाउनुभएको थियो ।

स्लोभाकियाको राष्ट्रपति प्रत्यक्ष निर्वाचनमा छनोट हुने परम्परा रहेको छ । वर्तमान राष्ट्रपति जुजाना कापुटोभाको पाँच वर्षको कार्यकाल यही वर्षको जुन १५ मा सकिनेछ उहाँले यो निर्वाचनमा उम्मेदवारी दिनुभएको थिएन ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !