२१ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा बैठक बस्दै

प्रकाशित मिति :  २८ चैत्र २०८०, बुधबार ०८:५१


काठमाडाैं । प्रतिनिधि सभाको बैठक बुधबार पनि बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकका लागि विभिन्न सम्भावित कार्यसूची ताेकिएकाे संसद् सचिवालयले जनाएकाे छ । यसअघि हिजाे बसेकाे बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गरेपछि आजसम्मका लागि स्थगित गरिएकाे थियाे ।

सुरुमा १५ मिनेटका लागि स्थगित गरिएकाे बैठक पछि सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित गरिएकाे जानकारी दिइएकाे हाे ।

आजकाे बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको मन्त्रीले जवाफ दिनुहुने सम्भावित कार्यसूची छ ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन, २०८० पेस गर्नुहुनेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !