३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपचुनाव : सकियाे मतदान, इलाम-२ मा ५७ प्रतिशत मत खस्यो

प्रकाशित मिति :  १५ बैशाख २०८१, शनिबार १८:२१


काठमाडाैं । प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर-२ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर-१ (१) मा भएकाे उपचुनावअन्तर्गत मतदान सकिएकाे छ ।

बिहान ७ बजेदेखि सुरु भएकाे मतदान साँझ ५ बजे सकिएकाे निर्वाचन आयाेगले जनाएकाे छ । मतदानकाे अवधि सकिएपछि निर्धारित समयअघि नै मतदान गर्न मतदान केन्द्रमा लाइन बसेकाहरुले मतदान गर्न पाउने छन् ।

इलाम-२ मा साँझ ५ बजेसम्म ५७ प्रतिशत मत खसेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटिकाहरू संकलन गरेर इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्रमा लगिनेछ । त्यसपछि सर्वदलीय बैठक बस्नेछ । इलाम-२ मा आजै मतगणना गर्ने आयाेगकाे तयारी छ ।

इलाम-२ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू लगायत १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

बझाङ-१ (१) मा भने भाेलिदेखि मात्र मतगणना गर्ने तयारी गरिएकाे छ । सडकको पहुँच भएका ठाउँबाट सुरक्षाकर्मीसहित मतपेटिका सदरमुकाम लगिनेछ । विकट मानिएको साइपाल गाउँपालिकाको मतपेटिका भोलिसम्म हेलिकोप्टरमार्फत ढुवानी गरिने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । मतपेटिका संकलन गरेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिनेछ ।

इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र बझाङ-१ (१) का प्रदेश सभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त भएका दुवै जिल्लामा आज उपचुनाव भएकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !