९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजदूतले मध्यपूर्वमा युक्रेन युद्धबारे वार्ता गरेको चीनको भनाइ

प्रकाशित मिति :  २९ बैशाख २०८१, शनिबार १५:१३


बेइजिङ । युरेसियाका लागि चीनका राजदूत लीले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको र आफूलाई युद्धमा मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजेको बताउनुभएको छ ।
युक्रेन युद्धमा तटस्थ पक्ष भएको दाबी गर्ने चीनले कहिल्यै पनि रुसको आक्रमणको निन्दा गरेको छैन भने संयुक्त राज्य अमेरिकाले बेइजिङको समर्थनबिना मस्कोले आफ्नो युद्धलाई निरन्तरता दिन सङ्घर्ष गर्ने बताएको छ ।

मे ३ देखि ९ सम्मको आफ्नो टर्कीए, इजिप्ट, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा राजदूत ली हुईले त्यहाँका कूटनीतिज्ञहरूलाई भेटेर सबै पक्षसँग ‘सीधा वार्ता पुनः सुरु गर्ने अवस्था सिर्जना’ गर्न आह्वान गर्नुभएको चीनको विदेश मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

यसै वर्षको प्रारम्भमा उहाँले युद्धमा मध्यस्थताका लागि बेइजिङको पहलअन्तर्गत रुस, युक्रेन र युरोपेली सङ्घ (इयु) का मुलुकहरूको भ्रमण गर्नुभएको थियो । ‘युक्रेन सङ्कटका बारेमा चीनले सबै पक्षसँग विचारहरूको गहन आदानप्रदान गरेको छ र सबै पक्ष परिस्थितिलाई शान्त पार्ने चीनको प्रस्तावहरूमा सहमत भएका छन् ’, पछिल्लो भ्रमणका बारेमा विदेश मन्त्रालयलको विज्ञप्तिमा भनिएको छ ।

राजदूत लीले ग्यास पाइपलाइन र ऊर्जा सुविधाजस्ता ‘प्रमुख पूर्वाधार संरचनाको सुरक्षा’ का साथै विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न मानवीय सहायता र अन्तर्राष्ट्रिय सहयोगका लागि पनि आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !