१३ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेलाई चुनावमा महिलाले जोगाए : केपी शर्मा ओली

प्रकाशित मिति :  १६ जेष्ठ २०८१, बुधबार १७:४५


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले भेटिदैन भन्नेहरु अहिले वेपत्ता रहेको भन्दै व्यंग्य गर्नुभएको छ ।

काठमाडौंमा बुधबार एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उहाँले देवासुर संग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै एमालेका तर्फबाट महिलाहरु मैदानमा उत्रिएर पार्टीलाई जोगाएको बताउनुभयो ।

‘धेरैले भने चुनावपछि टर्च बालेर हेरे पनि एमाले भेटिँदैन, धुलो पिठो बनाइदिन्छौं र एकथरी भने अलि खुलस्त लागे, धेरैथरी लागे नेकपा एमालेलाई ध्वस्त पार्न । तर, देवासुर संग्राममा देवीहरु मैलदानमा उत्रिएको जस्तै नेकपा एमालेको तर्फबाट देवीहरु मैदानमा उत्रिए सबै सखाप,’ उहाँले भन्नुभयो, ‘टर्च बालेर खोज्दा एमाले भेटिदैन भन्नेहरु टर्च बालेर मात्र भेटिन्छन् अहिले । आज एमाले जसरी सबल अवस्थामा पुगेको छ, महिलाहरुको असाधारण भूमिका छ ।’

उहाँले अहिलेको व्यवस्था परिवर्तन भए तापनि अवस्था जहाँको तहीँ छ भन्ने गलत भाष्य निर्माण भइरहेको बताउनुभयो । विगतमा भएका संघर्ष, लडाइँलाई अहिलेको पुस्ताले मूल्यांकन गर्न नसकेको उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो, ‘अहिले अवस्था जहाँको तहीँ छ भन्ने होइन । एउटा गलत शब्दावलीको प्रयोग भइराखेको छ अहिले नेपालमा व्यवस्था परिवर्तन भयो, अवस्था जहाँको तहीँ छ भन्ने । भर्खर आएको केटाकेटीले के देख्नु के, अवस्था कहाँ थियो, कहाँबाट कहाँ आइपुगियो भनेर ? कति संघर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहाँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ता उस्तै रे । कहाँ छ उस्ता उस्तै छ ? महिलाको उपस्थिति संसदमा ३३ प्रतिशत छ ।’

सहकारी संस्थाहरु संकटमा परेको प्रसंगमा उहाँले गलत तत्वले सहकारीलाई माध्यम बनाएर ठगी गरेको आरोप उहाँले लगाए । गैरसहकारीवालाहरु, ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही ठूला सहकारी समेत बदनाम भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठूला सहकारी बदनाम भएको छ । त्यहाँ समस्याग्रस्त भएको छ । ती संकटग्रस्त छन् । तर, साँच्चैको सहकारीहरू संकटग्रस्त हुँदैनन्, आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ, कुनै समस्या हुँदैनन् ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !