२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सक्रिय पत्रकारको सदस्यता जोगाउन सकिनँ भने आफ्नो सदस्यता पनि त्यागिदिन्छु : गणेश बस्नेत

प्रकाशित मिति :  २२ जेष्ठ २०८१, मंगलवार १५:१३


काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारको हित र रक्षाको लागि जस्तोसुकै लडाइँ लड्न पनि तयार रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघले राजनीतिक पूर्वाग्रह राखी प्रेस चौतारी नेपाल आबद्ध पत्रकारको सदस्यता कटौती गरेपछि बस्नेतले महासंघको यो निर्णयको विरुद्ध प्रेस चौतारी नेपाल अविचलित भएर लड्ने बताउनुभयो ।  चौतारीले पत्रकारको सवालमा कुन बिचार, कुन संगठन, कुन जात, कुन लिङ्ग, कुन भूगोल भनेर नहेर्ने बताउँदै बस्नेतले पत्रकारिता गर्ने पत्रकार महासंघको सदस्य हुनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघलाई गैरपत्रकारको अखडा बनाउन नमिल्ने उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल पत्रकार महासंघको नेतृत्वले सदस्यता शुद्धीकरणलाई भ्रष्टिकरण गरेको उहाँको भनाइ छ । ‘जुनसुकै आस्था र बिचारमा लागेका हुन्, समाचार लेख्ने पत्रकार मात्रै नेपाल पत्रकार महासंघको सदस्य बनाउन सुरु गरिएको शुद्धीकरण अभियानलाई महासंघको नेतृत्वले भ्रष्टिकरणमा परिणत गर्‍यो, देशभरका सक्रिय अनि समाचार लेख्ने पत्रकारलाई अपमानसहित शुद्धीकरण मापदण्डको हत्या गरेर समाचार बाहेक सबै काम गर्नेलाई समावेश गरी समाजले पत्रकारको रूपमा स्वीकार गरेको हस्तीलाई महासंघबाट बाहिर राखेर केन्द्रीय सदस्यको बैठक भनेर सूची सार्वजनिक भयो’, उहाँले भन्नुभयो ।

यी तथ्यले नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्व सदस्यता शुद्धीकरणमा पूर्णतः असक्षम प्रमाणित भएको उहाँले बताउनुभयो । महाधिवेशन सम्पन्न भएर नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गर्नेबाहेक केही काम गर्न नसक्ने वर्तमान नेतृत्वको कारण शुद्धीकरण प्रक्रिया भङ्ग भएको उहाँको ठहर छ । ‘प्रेस चौतारी नेपाल पत्रकारको हित रक्षाका खातिर इफ, बट नभनी भ्रष्ट शुद्धीकरणलाई खारेजको घोषणा गरेर जस्तालाई त्यस्तै जवाफ दिने निर्णयमा पुगेको छ’, बस्नेतले भन्नुभयो ।

पत्रकार महासंघको सदस्यबाट समाचार लेख्ने जति सबै फाल्ने, बोर्डरमा तस्करी गर्नेलाई पनि हाल्ने काम भएको उहाँले बताउनुभयो यसको प्रतिवादमा उत्रिनुको कुनै विकल्प बाँकी नरहेको बस्नेतले बताउनुभयो । ‘श्रमजीवी पत्रकारलाई रुवाउने अपराधपूर्ण व्यवहारले जीवनभर पत्रकारितामा रहने निर्णयसहित यो क्षेत्रमा लागेका, सडकमा रमाउने तर स्वाभिमानमा कुनै सम्झौता नगर्ने श्रमजीवीको साथी म र स्थापनाकालदेखि नै लेख्ने श्रमजीवी पत्रकारको पक्षमा उभिएको हाम्रो संस्था  प्रेस चौतारी नेपाल प्रतिवादमा उत्रनुको कुनै विकल्प रहेन’, उहाँले भन्नुभयो ।

उहाँले क्रियाशील पत्रकारको सदस्यता जोगाउन सकिएन भने आफू पनि सदस्यता त्यागेर आउने प्रष्ट पार्नुभएको छ । ‘देशभर सक्रिय पत्रकारितामा रहनुभएका प्रिय साथीहरू तपाईँको सदस्यता जोगाउन सकिनँ भने म आफ्नो सदस्यता पनि त्यागेर तपाईँहरूको साथमा आउने छु, ढुक्क हुनुहोस् समाचार लेख्नेलाई फाल्ने र आफ्नो सेवा गर्नेलाई हाल्ने शुद्धीकरण खारेज गरेरै उच्चो शिरका साथ तपाईँहरूको सामु आँखा जुधाएर कुरा गर्न आउने छु’, उहाँले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !