९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने

प्रकाशित मिति :  २४ जेष्ठ २०८१, बिहीबार १६:०३


नयाँ दिल्ली ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत नेताले सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गरेका छन् ।

प्रधानमन्त्री दाहाल र हसिना दुवैले यस अघि भारतीय प्रधानमन्त्री मोदीलाई १८ औँ लोकसभा चुनावमा एनडिएको विजय प्रदर्शनका लागि बधाइ दिएका थिए ।

प्रधानमन्त्री मोदी र नेपाली प्रधानमन्त्री दाहालसँग फोनमा शुभकामना प्रदान तथा शपथ ग्रहणमा निमन्त्रणाको कुरा भएको एक अधिकारीले बताए । कुराकानीमा शपथ ग्रहण समारोहमा सहभागीताको पुष्टि गरेको तथा औपचारिक घोषणा चाँडै गरिने जनाइएको छ ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाका राजनीतिक सहयोगी एम नजरुल इस्लामले प्रधानमन्त्री हसिना प्रधानमन्त्री नरेन्द्र मोदीबाट निमन्त्रणा प्राप्त गरेपछि शपथ ग्रहण समारोहमा भाग लिने कार्यक्रम तय भइसकेको बताउनुभएको छ ।

बङ्गलादेशकी प्रधानमन्त्री हसिना शनिबार दिउँसो विशेष उडानमा ढाकाबाट प्रस्थान गरी जुन ९ को दिउँसोसम्म राजधानी दिल्लीमा रहने स्रोतले जनाएको छ ।

समारोहको साइडलाइनमा द्विपक्षीय बैठकको सम्भावनाबारेमा सोधिएको प्रश्नमा इस्लामले बैठकको पुष्टि हुन नसकेको बताउनुभएको छ ।

हसिनाले भर्खरै बङ्गलादेशको राष्ट्रिय चुनावमा विजय प्राप्त गरेपछि बङ्गलादेश र भारतबीचको बलियो सम्बन्धलाई जोड दिँदै भारत परीक्षित र वफादार छिमेकी भएकोले भारत र बङ्लादेशबीच राम्रो सम्बन्ध भएको उल्लेख गर्नुभएको थियो ।

सन् २०२४ को लोकसभा चुनावको मतगणना मङ्गलबार सम्पन्न भएको थियो । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले २४० सिट जितेको छ, जुन सन् २०१९ को ३०३ सिटभन्दा निकै कम हो र यसले सरकार गठनका लागि गठबन्धनको सहयोग आवश्यक हुनेछ ।

अर्कोतर्फ, मुख्य विपक्षी काङ्ग्रेसले सन् २०१९ को चुनावमा ५२ सिट जितेकोमा हाल ९९ सिट जितेर संसद्मा विपक्षी स्वरलाई सशक्त बनाउने सुनिश्चितता गरेको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !