टी-२० विश्वकप क्रिकेट : श्रीलंकाको लगातार दोस्रो हार, बंगलादेशको विजयी सुरुआत
काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ ।
अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा बंगलादेशले श्रीलंकालाई २ विकेटले पराजित गरेको हो । समूह ‘डी’ मा रहेको श्रीलंकाको यो लगातार दोस्रो हार हो ।
श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरयो । बंगलादेशका लागि टोहिड हृदोयले ४० र लिटन दासले ३६ रन बनाए ।
बलिङतर्फ श्रीलंकाका नुआन थासराले ४ र वानिन्दु हसरंगाले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । उसका लागि पाथुम निसांकाले सर्वाधिक ४७ र धनन्जय डि सिल्भाले २१ रन बनाए ।
श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । सोही समूहमा रहेको नेपाल आफ्नो पहिलो खेलमा नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले मंगलबार अमेरिकाको फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ ।