९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

तरबुजाखेतीबाट मनग्य आम्दानी

प्रकाशित मिति :  ३२ जेष्ठ २०८१, शुक्रबार १३:३१


घोराही (दाङ) । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २६ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थाल्नुभएको छ ।

घोराही उपमहानगरपालिका–७ घुस्रामा ती युवा मिलेर बबई नदी किनारमा तरबुजाखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । विगतमा बालुवैबालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको किसान खड्का बताउनुहुन्छ ।

कृषि विषय अध्ययन गर्नुभएका उहाँ आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने बताउनुहुन्छ । उहाँले भन्नुभयोे, कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, एकजना साथी थपिएपछि अहिले दुईजना मिलेर घोराहीमा व्यावसायिक तरबुजाखेती पनि सुरु गरेका हौँ । यसबाट राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत व्यवसाय गर्दै आउनुभएको छ ।

घुस्रामा चार बिघा र झिँगौरामा नौ कठ्ठा जग्गा ५० हजार तिर्ने गरेर तीन महिना अवधिको लागि जग्गा भाडामा लिएर तरबुजाखेती गरिरहनुभएको छ । अहिले सरस्वती र विशाला जातको तरबुजा ५० किलोका दरले र आरोही रु ७० किलोका दरले बिक्री गर्दै आइरहेको अर्का किसान वीरेन्द्र वली बताउनुहुन्छ । अहिले दैनिक सात–आठ सय किलो बिक्री हुन्छ । हालसम्म १४ हजार किलो बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । तीन महिनाको अवधिमा १० लाखको कारोबार गर्ने र आधाभन्दा बढी रकम बचत गर्ने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ ।

सोचेभन्दा राम्रो आम्दानी भइरहेको छ, किसान वलीले भन्नुभयो । अरुको देशमा जानुभन्दा स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा यसैलाई निरन्तरता दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य किसानलाई सहज हुनेछ । कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको उहाँ बताउनुहुन्छ ।

दाङ एग्रोमार्ट कृषि फार्ममा तरबुजा किन्न पुग्नुभएका घोराही उपमहानगरपालिका–१४ निवासी अर्जुन गौतम गर्मीको समयमा यसको महत्व धेरै हुने भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको उहाँ बताउनुहुन्छ । यहाँ आएर लैजाँदा ताजा, जैविक पाइने हुँदा स्वास्थ्यलाई फाइदा पुग्ने उहाँ बताउनुहुन्छ । बाहिरी देशबाट आएको खानुभन्दा आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उहाँले आग्रह गर्नुहुन्छ । यसअघि किसान वीरेन्द्र खड्काले घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्राबेरीखेतीबाट रु १४ लाख बढीको कारोबार गर्नुभएको थियो । खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्नसके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा किसानले दिएका छन् ।

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !