३० श्रावण २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

परम्परागत ढोल बाजा सिक्दै धिमाल समुदायका युवा

प्रकाशित मिति :  18 June, 2024 8:41 pm


दमक (झापा) । दमक नगरपालिकाले अल्पसङ्ख्यक धिमाल समुदायको परम्परागत ढोल बाजाको संस्कृति लोप हुन नदिन ढोल बजाउने र नृत्य प्रशिक्षण सञ्चालन गरेको छ ।
लोप हुन लागेका संस्कृतिमा युवा पुस्तालाई आकर्षित गर्न यही जेठको दोस्रो सातादेखि दमक–४ मा तालिम सञ्चालन गरेको हो । नगरपालिकाले विसं २०७४ असोज ३० गते धिमाल जातिलाई प्रथम नागरिकका रुपमा घोषणा गरी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालले पोदो अर्थात ढोलमा बजाइने सांस्कृतिक तालको संरक्षणमा तालिमले मद्दत पुग्ने बताउनुभयो । धिमाल जातिले बजाउने ढोल अरु जातिले बजाउने भन्दा केही फरक हुन्छ । बाजा मात्र फरक होइन, यसमा बजाइने तालहरुसमेत फरक हुने भएकाले लोपोन्मुख तालको खोजी गर्न गाउँघरमा पछिल्लो समय यस किसिमको तालिम दिन थालिएको धिमाल समुदायका अगुवा रतन धिमालले बताउनुभयो ।
धिमालका अनुसार अवस्था र महत्वका आधारमा १३ प्रकारको ताल बजाइने गरिन्छ । उहाँले भन्नुभयो, “खासगरी पूजा गर्दा, बाटोमा हिँड्दा, रमाइलो गर्दा र अन्य अवस्थामासमेत ढोलको आवाजले थाहा पाइन्छ, यसले हाम्रो संस्कृति झल्काउँछ ।”
पछिल्लो समय ढोल बजाउनेहरु हराउँदै गएकाले सँस्कृति संरक्षणमा चिन्ता थपिएको उहाँको भनाइ छ । धिमाल जातिको आफ्नै भाषा, धर्म, सँस्कृति र भेषभुषा छन् । सँस्कृति र भाषा हराएपछि जाति हराउला भन्ने चिन्ताले लोपोन्मुख सँस्कृतिको संरक्षणमा जुटेको प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालले जानकारी दिनुभयो ।
तालिममा सहभागीले ढोलका १३ ताल सिकेका छन् । ढोल बनाउने काठ र वन्यजन्तुको छाला अभाव हुन थालेकाले विस्तारै ढोल लोप हुँदै गएको छ । एउटा ढोल बनाउँदा ५० हजार भन्दा बढी खर्च हुन्छ ।
नेपालमा एक सय ४२ जातिमध्ये ९८ जाति अल्पसङ्ख्यकको सूचीमा छन् । यीमध्ये धिमालको जनसङ्ख्या २५ हजार छ सय ४३ रहेको छ । धिमाल जातिले आफ्नो संस्कृति संरक्षणमा चासो राख्नुले अन्य जातिलाई प्रेरणा मिलेको आदिवासी जनजाति महासङ्घ झापाका पूर्वअध्यक्ष पारसमणि राई बताउनुभयो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !