राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था
राँझा (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी सेवा उपलव्ध हुने भएको छ ।
जिल्लाको धार्मिक पर्यटकीयस्थल उक्त मन्दिरमा खानेपानीको काम अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले राससलाई जानकारी दिनुभयो । राप्तीसोनारी–४ बैजापुरको कुम्भरमा डिपबोरिङ गरेर सात किलोमिटर टाढा उक्त मन्दिरमा पानी पुर्याइने उहाँले बताउनुभयो ।
कुम्भरबाट बर्फानी मन्दिरसम्म पाइप बिछ्याउने काम अन्तिम चरणमा छ, उहाँले भन्नुभयो, बर्फानी बाबा मन्दिर रहेको डाँडामा पानी सङ्कलन गर्न ३५ हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण भएको छ ।
खानेपानीका लागि प्रदेश सरकारको ७० लाख बजेटमा काम भइरहेको छ । मुलुकका विभिन्न स्थानका साथै भारतबाट पनि बर्फानी बाबाको दर्शन गर्न आउने गरेका छन् । मन्दिरमा खानेपानीका साथै आवासको व्यवस्था गर्न भवन निर्माण जारी छ । राप्ती सोनारी गाउँपालिका–४ का वडाध्यक्ष मीनराज खड्काले भवन निर्माण अन्तिम चरणमा पुगेको तथा त्यसनिम्ति प्रदेश सरकारले ८० लाख बजेट विनियोजन भएको बताउनुभयो ।
–रासस












