२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेचीनगरको वडामा छैनन् नागरिक बडापत्र

प्रकाशित मिति :  ६ असार २०८१, बिहीबार ११:५२


झापा । मेचीनगर नगरपालिकाका सबै वडा कार्यालयले अझैसम्म वडावासीलाई प्रदान गरिने सेवा, सुविधा, लाग्ने शुल्क र समयसीमा किटान गरिएको ‘नागरिक बडापत्र’ राखेका छैनन् । कार्यालयमा बडापत्र नराख्दा सेवाग्राही मर्कामा परेका छन् । बडापत्र कार्यालयमा नहुँदा सेवाग्राही काम कहाँ गराउने, सम्पर्क कसलाई गर्ने, शुल्क र समय कति तिर्ने भन्ने विषयमा अन्योलमा पर्ने गरेका जनाइएको छ । मेचीनगर नगरपालिकामा १५ वटै वडामा नागरिक बडापत्र राखिएका छैनन् । हरेक सरकारी कार्यालय परिसरमा सेवाग्राहीले देख्न सकिने ठाउँमा नागरिक बडापत्र राख्नुपर्ने कानुनी व्यवस्था छ । मेचीनगरका वडा कार्यालयले यो नियम पालना गरेका छैनन् ।

मेचीनगर–१० का सम्रता न्यौपानेले कार्यालयमा बडापत्र नराख्दा सेवा लिन जाँदा झन्झट बेहोर्नुपरेको गुनासो गर्नुभयो । “कुन सेवा कहाँ गएर लिने, कसलाई भेट्ने ? समस्या भयो, उहाँले भन्नुभयो, यता सोध्यो, उता जानु भन्छन् । उता सोध्यो, फलानो कागज खोइ भन्छन् । यो त झन्झटिलो भयो नि । नागरिक बडापत्र राखिदिएको भए पढ्नेले सजिलै काम गर्न सक्थे ।

उहाँले आफूले कर्मचारीसँग सोधेरै काम गराउनुपरेको र सरकारी दस्तुर कति लाग्ने भन्नेबारे पनि कर्मचारीबाटै जानकारी लिनुपरेको बताउनुभयो । सेवाग्राहीलाई झन्झटबाट मुक्त गराउन पनि कार्यालयमा नागरिक बडापत्र अनिवार्य रहेको उहाँको भनाइ छ ।

नागरिक बडापत्र हालसम्म कार्यालयमा नभएको वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले तत्काल बनाउन कर्मचारीलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा हाम्रो कमजोरी भयो । चाँडै कार्यालयमा नागरिक बडापत्र राखेर सेवाग्राहीलाई सेवा लिन सहज बताउँछाैँ ।

मेचीनगर –७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले नागरिकको सूचनाको हक सुनिश्चित गर्नका लागि नागरिक बडापत्र आवश्यक रहने बताउनुभयो । उहाँले नगरपालिका कार्यालयबाटै बडापत्र बनाएर पठाउने भनेकाले अहिलेसम्म पर्खिएर बसेको जनाउँदै अब अन्यको बाटो नहेर्ने र आफैँ नागरिक वडापत्र राख्न लागेको बताउनुभयो ।

जनतालाई सूचनाको हकबाट वञ्चित गर्न मिल्दैन । जति ढिलो भयो भयो, अब साउन १ गतेदेखि कार्यालयमा जनताले देख्ने स्थानमा नागरिक बडापत्र राख्छौँ, उहाँले भन्नुभयो । बडापत्रले सेवाप्रदायक सरकारी निकायलाई सेवाग्राहीका आवश्यकताप्रति उत्तरदायी, जवाफदेही र जिम्मेवार बनाउने हुँदा सबै कार्यालयमा यसलाई राख्न आवश्यक छ ।

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !