भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट, प्राथमिकतामा के-के ?
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि नीति, कार्यक्रम र बजेट ल्याएको छ । महानगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीले सोमबार बजेट तथा कार्यक्रम ल्याउनु भएकाे हाे ।
आउने वर्षको लागि महानगरले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको हो । नगर सभा तथा १५ औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले सोमबार बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो ।
कुल बजेटमा १ अर्ब ८० करोड रुपैँया आन्तरिक आय हुने अनुमान छ । बजेटमा अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघको राजस्व बाँडफाँडबाट ३२ करोड ४७ लाख तथा वाग्मती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा ५८ करोड २२ लाख ६७ हजार रुपैँया, जनसहभागिता र श्रमदानबाट ५० करोड, बैङ्क मौज्दात १ अर्ब ६० करोड, सडक बोर्ड नेपालबाट ३ करोड आम्दानी हुने अनुमान गरिएको छ ।
महानगरभित्र हरियालीसहितको नमुना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल लगायतका सहरी सौन्दर्य र भूउपयोग तथा बस्ती विकाससम्बन्धी कार्यक्रम प्रस्ताव गरिएको छ ।
सहरी पूर्वाधार, भू उपयोग तथा बस्ती विकास र अधुरा योजनाहरूको निरन्तरता दिने, कृषि तथा पशु विकास कार्यक्रम, शिक्षा विकास, नियमित सडक मर्मत सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाइ एवं हरियाली निर्माण सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग, सहकारी तथा रोजगार प्रवर्द्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रवर्द्धन र युवा तथा खेलकुद विकासका कार्यक्रमलाई नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिइएको छ ।












