२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तथ्यमा आधारित भई विपद् पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड

प्रकाशित मिति :  १२ असार २०८१, बुधबार १५:३३


कर्णाली । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलाले दीर्घकालीन विकास र मानव सुरक्षाका लागि तथ्य र वास्तविकतामा आधारित भई विपद् पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज संयुक्तरुपमा आयोजित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य र आगलागीजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी’मा सहसचिव धमलाले कार्यान्वयनयोग्य योजना मात्र प्रभावकारी बन्ने बताउनुभयो ।
प्राधिकरणले विपद् न्युनीकरण गर्न वार्षिक कार्ययोजना बनाए पनि कार्यसम्पादन प्रक्रिया अपेक्षित हुनसकेको छैन, धमलाले भन्नुभयो, विपद्मा प्रतिफल खोज्नुभन्दा पनि बेलैमा सावधानी अपनाउनुपर्दछ । मानव जीवनमा चाहेर वा नचाहेर विपद् आइलाग्ने भन्दै त्यसको प्रतिकार्यमा सबै क्षेत्र र निकाय एक भएर लाग्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले विपद् जोखिम प्रतिकार्य र जोखिम न्युनीकरणका लागि सबै एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मानव जीवन रक्षा र प्रकृतिको संरक्षणका लागि बेलैमा सावधानी पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।
गोष्ठीमा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले प्रदेशले मनसुन पूर्वतयारी, प्रतिकार्य र विपद् जोखिम न्यूनीकरणको तयारी गरिरहेको जानकारी दिनुभयो । आगलागीजन्य विपद् जोखिम कम गराउन र डढेलोबाट वन जोगाउन किसानलाई प्रातेत्साहनमूलक कार्यक्रम ल्याई बाँझो जमिनमा खेती गर्ने नीति ल्याइनुपर्नेमा जोड दिनुभयो ।
गृह मन्त्रालयका उपसचिव सुन्दरप्रसाद शर्माले ‘नेपालमा वन डढेलोको अवस्था’, वन डढेलो विज्ञ विमल पाण्डेले ‘विपद् प्रतिकार्यमा कर्णाली’ र वातावरणविद् मीना चौधरीले ‘विपद्ले पार्ने वातावरणीय प्रभाव र त्यसमा विषयगत क्षेत्रले खेल्नुपर्ने भूमिका’ का बारेमा प्रस्तुति राख्नुभएको थियो । उक्त गोष्ठीमा विभिन्न प्रदेशस्तरीय मन्त्रालयका सचिव, सुरक्षा निकाय तथा गैरसरकारी निकायका प्रतिनिधि र पत्रकारहरुको सहभागिता थियो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !