हरित सडक बनाउन वृक्षारोपण, रुख रोप्न गाउँ नै निस्कियो सडकमा

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय बासीले गाउँमा पक्की बाटो बनेपछि सडकलाई हरित सडक बनाउने अभियान थालेका छन् ।
वडा कार्यालयसँगको सहकार्यमा स्थानीयले गाउँ क्षेत्रको सडकमा वृक्षारोपण कार्यक्रम सुरु गरेका छन् । सडक किनामा विभिन्न जातका फुल्ने बिरुवा रोपेर सडक सौन्दर्यको लागि वृक्षारोपण अभियान चलाइएको छ ।
सडक किनारमा रुख रोप्न वडा कार्यालय केही आर्थिक सहयोग गरेको छ । वडा कार्यालयले रुख जोगाउन स्थानीय बाँसबाट टी गार्ड बनाउने लगायतको कामका लागि स्थानीय टोल विकास संस्थालाई आर्थिक सहयोग गरेको छ । बाँकी काममा स्थानीय जुटेका छन् । एक व्यक्तिले कम्तीमा ६ बिरुवा हुर्काउने सङ्कल्प गरेको स्थानीय बताउँछन् ।
टोल विकास संस्थालाई व्यवस्थापन गर्न दिएर वडा कार्यालयको आयोजनामा वृक्षारोपण गरिएको मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो । गाउँमा पर्यटन प्रवर्धनको लागि यो काम थालिएको उहाँले बताउनुभयो । गाउँको सडक किनारमा ६ सय बढी बिरुवा रोपेर हुर्काउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रम मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, निर्वाचित जनप्रतिनिधि, राजनीतिक कार्यकर्ता तथा स्थानीय समुदायको सहभागिता रहेको थियो ।