७ असार २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘सुनाखरी मध्यवर्ती सामुदायिक घरबासले अपेक्षाकृत पहुना भित्र्याउन सकेन’

प्रकाशित मिति :  १५ असार २०८१, शनिबार १३:४८


वीरगञ्ज (पर्सा) । पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले अपेक्षाकृतरूपमा पर्यटकको आवागमन बढ्न सकिरहेको छैन् ।
यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ । वीरगञ्ज महानगरक्षेत्रबाट ३४ किलोमिटरको दूरीमा पर्ने घरबासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जङ्गली जनावरको अवलोकन गर्न सक्नेछन् । यहाँ बाघमोर्चा माई, गुम्बा, प्रणामी मन्दिर, सहिदस्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन् ।
सुनाखरी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष शम्भुराम पौडेलले प्रचारप्रसारको अभावले अपेक्षाकृतरूपमा पर्यटक भित्र्याउन नसकिएको बताउनुभयो । “सुनाखरी घरबास मधेस प्रदेशकै पहिलो घरबास हो । तर पर्याप्त प्रचारप्रसारको अभावले अपेक्षाकृतरूपमा पहुना भित्र्याउन सकिएको छैन्, उहाँले भन्नुभयो, यहाँ १५  घरमा अहिले घरबास सञ्चालन भइरहेको छ । यहाँ स्थानीयस्तरमा उत्पादन हुने परिकारलाई राम्रोसँग ‘ब्रान्डिङ’ गर्न सकिरहेका छैनौँ ।
घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले मधेस प्रदेशको सानका रूपमा रहेको पहिलो घरबासलाई प्रभावकारी ढङ्गले प्रचारप्रसार तथा ब्रान्डिङ गर्नुपर्ने बताउनुभयो । होमस्टेका गतिविधिलाई अहिलेका आधुनिक सूचना प्रविधिको प्रयोग गरेर जतिसक्दो प्रचारप्रसार गर्न आवश्यक रहेको छ, उहाँले भन्नुभयो, घरबाससँग विभिन्न ठाउँमा सचेतनामूलक ब्यानर तथा सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार गर्न सकिन्छ । सोतर्फ ध्यान केन्द्रित गर्न जरूरी छ । कार्यालयले शुक्रबार बजार विस्तारसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गरेको थियो ।
प्रमुख सिंहले कार्यालयले सामुदायिकरूपमा घरबास सञ्चालन गर्दै आइरहेका उद्यमीलाई आगामी दिनमा लेखा तथा बजारीकरण सम्बन्धित जनेचतनामूलक अभिमुखीकरण कार्यक्रम अघि बढाइने बताउनुभयो ।
सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले समितिले सुरूआती चरणमा ३०/३० हजार रकम ऋण दिएर सुरूआत भएको सामुदायिक घरबासले पूर्वाधार निर्माणमा धेरै फेरिएको बताउनुभयो । सुनाखरी सामुदायिक घरबास निकै कष्टका साथमा सुरूआत भएको थियो । तर अहिले घरबासका सामुदायिक भवन तयार भएर सञ्चालनमा आइसकेको छ, उहाँले भन्नुभयो, १५ घरबासमा सञ्चालनमा रहेका छन् । केही वर्षअघि प्रदेश सरकारले घरबास पूर्वाधार सुधार गर्न बजेट उपलब्ध गराएको थियो ।
मध्यवर्ती सामुदायिक घरबासका सञ्चालक ज्योति लामाले स्थानीयस्तरमा पाइने खानेकुरालाई प्राथमिकता राख्दै आइरहेको बताउनुभयो । यहाँ उत्पादन हुने मकैको विशेष परिकार पर्यटकले निकै रूचाएर खाइरहनुभएको छ,’ उहाँले भन्नुभयो,‘लोकल कुखुरा र मकैको ढिँडाको पनि पहुनाले धेरै रूचाइरहनुभएको छ । सञ्चालक लामाले घरबास मध्यमस्तरमा चल्दा पनि आफ्नो जीविकोपार्जन गर्न धेरै सहयोग पुगेको बताउनुभयो । हामीले निकै सस्तो र सुलभ दरमा घरबासले पाहुनाको सेवा सत्कार गर्दै आइरहेका छौँ, उहाँले भन्नुभयो, समूहमा पाहुना आउँदा तामाङ सामुदायले सांस्कृतिक कार्यक्रम पनि देखाउँदै आइरहेका छौँ ।
घरबासका अध्यक्ष पौडेलले मधेस प्रदेशमा कानुन अभावले घरबास नवीकरण गर्न पनि पनि समस्या भोगिरहेको बताउनुभयो । विगतमा घरबास सङ्घीय सरकार मातहत दर्ता तथा नवीकरण हुने गथ्र्याे । तर पर्यटन कार्यालय प्रदेश सरकार मातहत कार्यालयमा गाभिएसँगै अहिले घरबास दर्ता र नवीकरणसँग सम्बन्धित कानुनको अभाव देखिएको छ, उहाँले भन्नुभयो, कानुन अभावले दुई वर्षदेखि नयाँ दर्ता र नवीकरणको काम रोकिरहेको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !