७ असार २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झोलुङ्गे पुलले दूरी घट्यो 

प्रकाशित मिति :  १६ असार २०८१, आईतवार १३:२०


पूर्वाधार विकास कार्यालयले गएको चार वर्षमा २० वटा झोलुङ्गे पुल निर्माणको काम सकेको छ । पूर्वाधार विकास कार्यालय सङ्खुवासभाले यो वर्ष मात्रै सभापोखरी गाउँपालिकाभित्रका विभिन्न स्थानमा तीनवटा झोलुङ्गे पुल निर्माण गरेको छ । आव २०७७/७८ मा चार, आव २०७८/७९ मा छ, आव २०८९/८० मा तीन र चालु आवमा सातवटा झोलुङ्गे पुल निर्माण सकिएको कार्यालयका प्रमुख शैलेन्द्र सिंहले बताउनुभयो ।
पूर्वाधार विकास कार्यालयले सभाखोलामा ८८ मिटर झोलुङ्गे पुल निर्माण गरिदिएपछि भने सिङ्गो गाउँलाई फाइदा पुगेको स्थानीय तिलक सुब्बा मादेनले बताउनुभयो । पुल नहुँदा माङ्जुवा दोभान सिदेक्पा जाने करिब ६० परिवार वर्षायाममा सभाखोला तर्न नसकेपछि तीन घण्टा घुमेर बाह्रबिसे बजार आउनुपर्ने बाध्यता थियो । माङ्जुवा दोभान सिदेक्पा हुँदै स्थानीयलाई सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे आउन पनि सजिलो भएको उहाँको भनाइ छ ।
त्यसैगरी, आपुङ्गको माङ्जुवा खोलामाथि पनि प्रदेश सरकारकै लगानीमा एक सय १३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । त्यसले सभापोखरी–५ र ६ नं वडा जोड्न सजिलो भएको छ । स्थानीयका अनुसार हिउँदका केही महिना दुःखकष्टका साथ खोला वारपार गरे पनि वर्षा सुरु भएपछि सो खोला तर्न सक्ने अवस्था हुँदैन ।
सदरमुकाम खाँदबारी पुग्न सभापोखरी–५ र ६ का स्थानीयलाई वर्षको आठ महिनासम्म दैनिक दुई घण्टा घुमेर धुपू हुँदै जानुपर्ने बाध्यता रहेको छ । उक्त स्थानमा झोलुङ्गे पुल बनेपछि राहत महसुस भएको छ । झोलुङ्गे पुलले एक गाउँबाट अर्को गाउँ जाने दूरी भने छोट्याएको छ । त्यसबाट करेसाबारीमा फलेका कृषिउपज पनि एक ठाउँबाट अर्को ठाउँमा लगेर बेच्न सजिलो भएको स्थानीयवासी बताउँछन् । पुल निर्माणपछि सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धालाई सजिलो भएको छ ।
पक्की पुल बनाउन नसकिने जिल्लाका दुर्गम ठाउँमा बनेका झोलुङ्गे पुलले गाउँवासीलाई प्रत्यक्ष रुपमा फाइदा पुगेको सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले बताउनुभयो । झोलुङ्गे पुलले निर्माण भएसँगै स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजसमेत किसानले बजार ल्याउन थालेको उपाध्यक्ष चापागाईंले बताउनुभयो । पुल सञ्चालनमा आएपछि पूर्वाधार कार्यालयले उपभोक्ता समिति र स्थानीय बासिन्दालाई मर्मत तथा प्रयोगसम्बन्धी तालिम दिने गरेको पूर्वाधार कार्यालयले जनाएको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !