२ असार २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट

प्रकाशित मिति :  १७ असार २०८१, सोमबार ०८:२८


महेन्द्रनगर .।  प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सक्रियतामा आँप बरामद गरी आज नष्ट गरिएको छ ।
महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँपको स्थानीय प्रशासनले बजार अनुगमन गरेसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले पाँच हजार सात सय ८० किलोग्राम आँप बरामद गरेको थियो ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले महेन्द्रनगर बजार क्षेत्रबाट बरामद गरिएका आँप नष्ट गरिएको जानकारी दिनुभयो । भारतीय बजारबाट ल्याएका प्रतिबन्धित रसायन हालेर पकाएका आँप बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमन टोलीले आँप बरामद गरेको थियो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीय तहले पनि बजार अनुगमनमा सक्रियता देखाउनुपर्नेमा  जोड दिनुभयो । उहाँले बजारका डेरी पसलदेखि मिठाइ पसलसम्म अनुगमन तीव्र पारिएको जानकारी दिनुभयो ।
बजार अनुगमनको संयोजकसमेत रहनुभएका प्रजिअ सापकोटाले भन्नुभयो, “स्थानीयस्तरबाट बजार अनुगमन हुन सकेमा बढी स्वस्थता कायम गर्न सकिन्छ, सबै ठाउँमा सेवा प्रवाह हुनसक्छ ।” खाद्य अनुसन्धान अधिकृत बोहराले प्रतिबन्धित रसायन हालेर पकाएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जफत गरेर नष्ट गरिएको बताउनुभयो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !