नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए
महेन्द्रनगर (कञ्चनपुर) । नरबहादुर चन्द भारतमा जन्मिए । उहाँले माध्यमिक तहको शिक्षा पनि त्यहीँ आर्जन गर्नुभएकाे । नरबहादुर कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थालेका हुन् । उहाँका बुबा भारतको राजस्थान प्रान्तको उदयपुर जिल्लामा एउटा कम्पनीमा काम गर्दथे । नरबहादुर त्यहाँ हकीका अब्बल खेलाडी भएर निस्किए । उहाँले उदयरपुर जिल्लाको मात्र होइन, राजस्थान प्रान्तको टोलीमा सहभागी भएर हकीमा उत्कृष्ट प्रदर्शन गर्नुभएकाे । भारतमा रहँदा जिल्ला र प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेलेका नरबहादुर हाल हकीको कञ्चनपुर प्रशिक्षकका रुपमा कार्यरत छन् ।
प्रशिक्षक चन्दले पछिल्लो समय सुदूरपश्चिमलाई हकी खेलको माध्यमबाट पनि चिनाएका छन् । भारतबाट कञ्चनपुर फर्किएपछि उनी यहाँ हकी खेलाडी उत्पादनमा समर्पित छन् । उहाँकै मेहनतका कारण हकीमा सुदूरपश्चिम प्रदेश अब्बल छ । विसं २०५२ देखि कञ्चनपुरको महेन्द्रनगरमा हकी प्रशिक्षकका रुपमा कार्यरत चन्दले हालसम्म ८० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन् ।
सन् १९९५ मा भारतको मद्रास (हाल चेन्नई) मा सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने तय भएको थियो । नेपालमा उक्त प्रतियोगिताको तयारी हुँदै थियो । नेपालले हकीमा भाग लिने भयो । तर नेपालमा हकी खेलको त्यती राम्रो अवस्था थिएन । नरबहादुर हकीमा भारतको राजस्थानमा चिनिएका खेलाडी थिए । उहाँको खेल देखेर नै भतिज गणेशबहादुर चन्दले नरबहादुरलाई सो प्रतियोगिताबारे जानकारी गराउनुभयाे ।
घरबाट (महेन्द्रनगर) भतिज गणेबहादुरको फोन आयो, उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट हकी खेल्ने अवसर छ भनेर खबर गर्नुभयाे, २९ वर्षअघिको कुरा सम्झिदै नरबहादुरले भन्नुभयाे–एक पटकको फोनको भरमा म नेपाल फर्किए र सोझै हकीको बन्द प्रशिक्षणमा सहभागी भए । नरबहादुरका भतिज गणेशबहादुर हाल कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष छन् । उनी भारतको राजस्थानमा छँदा नरबहादुरका सहपाठी हुन् ।
नरबहादुरले मद्रासमा भएको सातौँ दक्षिण एसियाली खेलकुदमा हकीमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभयाे । मेरो प्रदर्शनबाट प्रभावित भएर हकीका तत्कालीन मुख्य प्रशिक्षक अशोक पाण्डेले कञ्चनपुरमा हकी सिकाउन अस्थायी नियुक्ति दिनुभयाे । सातौँ दक्षिण एसियाली खेलकुदबाट फर्किएदेखि हालसम्म उनी यतै हकी खेलाडी उत्पादनमा सक्रिय छन् ।
नरबहादुर आफुलाई हकीको सफल प्रशिक्षक ठान्छन् । उनी आफ्नो भूमिकाप्रति सन्तुष्ट छन् । मैले सिकाएका खेलाडी सुदूरपश्चिमको टोलीमा मात्र होइन् देशभर छरिएका छन्, उहाँले भन्नुभयाे । खासगरी नरबहादुरले उत्पादन गरेका खेलाडीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबमा दबदबा रहेको छ । विसं २०५२ मा हकी प्रशिक्षकका रुपमा जागिर खाएका उनी २०६१ सालमा स्थायी भए । पछिसम्म पनि भारतको राजस्थानबाट हकी खेल्न र जागिर खान निम्तो आइरहन्थ्यो, नरबहादुरले भन्नुभयाे– म नेपालमै खेलाडी उत्पादनमा लागेँ, यसमै सन्तुष्ट छु ।
भारतको राजस्थानको उदयपुरमा स्वामी विवेकानन्द उच्च माध्यमिक विद्यालयमा पढ्दा विद्यालयका खेल प्रशिक्षक मधुकान्त सेनाडियाले नरबहादुरलाई हकी खेलमा प्रवेश गराएका हुन् । उक्त विद्यालयमा उनी सुरुआतमा फुटबल खेल्थे । प्रशिक्षक सेनाडियाकै करकापले पछि उनी हकी खेल्न थाले । हकी खेल्न थालेको वर्षदिनमै नरबहादुर जुनियरतर्फ उदयरपुर जिल्लाकै उत्कृष्ट खेलाडी बने । “त्यतीबेला भारतमा छँदा चारवटा राष्ट्रिय तथा प्रदेशस्तरीय खेलमा सहभागी भएँ”, उहाँले विगत सम्झिदै भन्नुभयाे ।
सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुरमा मात्र हकीको अभ्यास गराइन्छ । यहाँ हकी लोकप्रिय छ । भारतको गुवाहाटीमा भएको ११औँं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) मा सहभागी नेपालको महिला हकी टोलीमा सबै नरबहादुरले सिकाएका खेलाडी थिए । उहाँकै मेहनतका कारण पाचौँ र छैठाैँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले महिला हकीमा स्वर्ण पदक जितेको थियो । त्यसपछिका राष्ट्रिय प्रतियोगितामा पनि नरबहादुरले उत्पादन गरेका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दैआएका छन् ।
सन् २०१० मा बङ्लादेशको ढाकामा भएको १२औँ साफ खेलकुद प्रतियोगितामा हकीमा सहभागीमध्ये अधिकांश खेलाडी नरबहादुरकै उत्पादन थिए । महेन्द्रनगर नजिकैको उल्टाखाम त हकी खेलका नामले परिचित छ । कञ्चनपुरका महेन्द्रनगरस्थित कभर्डहल र भीमदत्त नगरपालिका–३ लक्ष्मी माविको चउरमा उनले हकी सिकाउँदै आएका छन् । उनलाई पूर्वाधार अभाव खड्केको छ । फुटबल मैदानमा हकी सिकाउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयाे । नरबहादुरले हकीका सिनियर खेलाडी कान्तुराम पनेरुको निजी पहलमा हकी मैदान बनाउन प्रयासरत रहेको बताए । खेल मैदान बनाउन पनेरुसँगै हातेमालो गर्न उनी कस्सिएका छन् ।
स्तरीय खेल मैदान र खेल सामग्री प्राप्त भए हकीमा धेरै प्रगति गर्न सकिन्छ, प्रशिक्षक नरबहादुरले उत्साहित हुँदै भन्नुभयाे । हालसम्म महेन्द्रनगरस्थित कभर्डहलमा उत्पादन गरेका ६८ तथा उल्टाखाम गाउँमा उत्पादन भएका १६ खेलाडीले नेपालको टोलीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हकी प्रतियोगिता खेलिसकेको उहाँले जानकारी दिनुभयाे । हाल ६५ खेलाडी हकीको नियमित अभ्यासमा छन्, प्रशिक्षक नरबहादुरले भन्नुभयाे ।
कञ्चनपुर फुटबल सङ्घका अध्यक्ष एवम् सहपाठी गणेशबहादुर चन्द नरबहादुरले हकीमा गरेको मेहनत लोभलाग्दो भएको बताउँछन् । खेलमैदान र खेल सामग्री अभावमा पनि प्रतिभावान खेलाडी उत्पादन गर्नु चानचुने कुरा होइन, उहाँले भन्नुभयाे ।
–रासस