मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को गयाे ज्यान
प्रकाशित मिति : 5 July, 2024 2:29 pm
काठमाडौँ । मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएका छन् । चालु आवमा हालसम्मका मनसुनजन्य विपद्का विवरण प्रस्तुत गर्दै उहाँले पहिरोबाट २४ जनाको ज्यान गएको, १९ जना घाइते भएका तथा बाढीबाट चारजनाको ज्यान गएको, एकजना बेपत्ता भएका र दुईजना घाइते भएका जानकारी दिनुभयो । भारी वर्षाका कारण चार जना घाइते भएका छन् । चट्याङका ९३ वटा घटनामा परी १९ को ज्यान गएको तथा ३५ घाइते भएका छन् । हालसम्म चट्याङबाट ३२ जिल्ला प्रभावित भएका उहाँले जानकारी दिनुभयो । सबै विपद्का घटनाबाट एक सय ७१ चौपायाका मरेका छन् ।
विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको मन्त्री अर्यालले जानकारी दिनुभयो । उहाँले मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रको संरक्षण हुनेगरी विभिन्न क्षेत्रमा निकायगत जिम्मेवारी तोकिएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा पूर्वतयारी गरिएको जानकारी दिँदै उहाँले सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार ‘कमाण्ड पोष्ट’ खडा गरी विपद्बाट धनजन जोगाउने कार्यक्रम भइरहेका बताउनुभयो ।
जिल्ला विपद् व्यवस्थापन कोषबाट मृतकका परिवारलाई पाँच लाख, प्रदेश सरकारबाट प्राप्त तीन लाख, चामल, दाल, तेल, चिनी, साबुनलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएको छ । साथै मृतकका परिवारलाई तत्काल १५ हजार, त्रिपाल, कम्बल र भाँडाकुँडा उपलब्ध गराइएको थियोे ।
–रासस
0
Shares












