३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा एमाले र जनमत पार्टी बाहेकका मन्त्री बर्खास्त

प्रकाशित मिति :  २२ असार २०८१, शनिबार १३:४८


काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेकपा एमाले र जनमत पार्टी बाहेकका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले शनिबार ६ जना मन्त्रीलाई बर्खास्त गर्नुभएको हो । उनीहरूले राजीनामा नदिएपछि मुख्यमन्त्रीले मन्त्री पदबाट हटाउनु भएको छ ।

सिंहले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ । बर्खास्त हुनेमा अर्थमन्त्री भरतप्रसाद साह, उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बेची लुङ्गेली, गृह तथा सञ्चार मन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरी हुनुहुन्छ ।

सिंह ६ दलको समर्थनमा गत जेठ २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । केन्द्रमा कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण बनेपछि प्रदेशमा पनि समीकरण बदलिएको हो ।

केन्द्रमा समीकरण बदलिए पनि प्रदेश सरकारको मन्त्रीबाट राजीनामा नदिने माओवादी, एकीकृत समाजवादी लगायतका दलका मन्त्रीहरूले बताउँदै आएका थिए । उनीहरूले आज सरकारलाई विश्वासको मत पनि दिने बताएका थिए ।

उनीहरूले राजीनामा नदिएपछि मुख्यमन्त्री सिंहले कांग्रेस र एमालेसँग सल्लाह गरेर मन्त्री पदबाट हटाउनुभएको बुझिएको छ । उहाँले आजै कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरिरहनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !