मधेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउन सकस
जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयमा आ–आफ्नो अडान राखेपछि नयाँ गठबन्धनमा सकस देखिएको छ ।
केन्द्रीय राजनीतिमा एमाले–कांग्रेसको सत्ता सहकार्यको सहमति भएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
सोही निर्णयको आधारमा मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत प्राप्त गरिसकेका छन् ।
प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ र विपक्षमा ३४ मत परेको थियो ।
जनमत, कांग्रेस, एमाले र लोसपा मिलेर मधेश प्रदेश सरकारमा सहभागी हुने भएपछि सो अनुसार तयारी थलिएको हो । तर मन्त्रालय बाँडफाँटमा कांग्रेस र लोसपाको अडानले मुख्यमन्त्री सिंह सकसमा परेका छन ।
कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण यादवले अर्थ सहितको चार वटा मन्त्रालय आफुहरुले पाउने सहमति भएको र सोहि अनुसार अगाडि बढ्नुपर्ने बताएका छन् ।
यता कांग्रेस संसदीय दलको बैठकले चार वटा मन्त्रालय मिल्यो भन्दै मन्त्रीहरुको नामसमेत टुंगो लगाएको जनाएको छ ।
नेपाली कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने आन्तरिक निर्णय गरिसकेको स्रोतले बताएको छ ।
स्रोतले जनाए अनुसार कांग्रेसले क्षेत्रीको नेतृत्वमा चारजनालाई सरकारमा पठाउने तयारी गरेको छ । तर मन्त्रालयको संख्या र नाम यकिन नभएको हुनाले अहिले पनि दलहरु एक आपसमा छलफलकै क्रममा रहेको बुझिएको छ ।
लोसपाले आफुहरुले दुई वटा मन्त्रालय पाउनु पर्ने अडान लिएपछि शनिबार नै भनिएको सपथग्रहण कार्यक्रम अझै हुन सकेन ।
गृह तथा सञ्चारसहित लोसपाले दुई वटा मन्त्रालयको दाबी गर्दै आएको छ ।
मुख्यमन्त्री सिंहले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी थालेको बुझिएको छ ।