विपद्पीडितलाई सहयोग
प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १३:०८

दमौली (तनहुँ)। नहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेका पहिरापीडितलाई सूर्य नेपाल प्रालिले सहयोग गरेको छ ।
गत शनिबार पहिरा गएर पीडित भएका छ परिवारलाई सूर्य नेपालले सोमबार खाद्यान्न, लत्ताकपडा, टेन्टलगायत सामग्री सहयोग गरेको हो । पहिराबाट पीडित भएकालाई कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको सूर्य नेपाल प्रालिका जनसम्पर्क प्रमुख अन्जन दुवाडीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, सूर्य नेपाल प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीलगायत उपस्थितिमा पहिरापीडितलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
पहिराले घर पुरिएर आइतबार तीनजनाको ज्यान गएको थियो । पहिराले पुरिएर ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको ज्यान गएको थियो । पहिरामा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नदी तथा खोलाका तटीय क्षेत्र, भिरालो जमिन र कमजोर भूधरातल भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्क रहन आग्रह गरिएको बताउनुभयो ।
-रासस
0
Shares