९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

किसानको वर्गीकरण गरी बीमा उपलब्ध गराउनुपर्नेमा जोड

प्रकाशित मिति :  २७ असार २०८१, बिहीबार १३:३६


तनहुँ । वास्तविक किसानलाई प्रोत्साहन गर्न किसानको वर्गीकरण गरी बीमा र सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् ।
जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका वक्ताले वास्तविक किसानको पहिचान गरी सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद हरिबहादुर चुमानले किसानको पहिचान र वर्गीकरण गरी अनुदानको व्यवस्था गरेमात्रै किसानको जीवनस्तर माथि उठ्ने बताउनुभयो । सुक्खा र वर्षायाममा हुने कृषि र पशुजन्य विपद्को अवस्थामा किसानका समस्या सम्बोधन गर्न सम्बन्धित मन्त्रालयमा विपद् कोष स्थापना गरिनुपर्छ, उहाँले भन्नुभयो, कोष स्थापना गरेमा विपद्मा परेका किसानलाई तत्काल राहतको व्यवस्था गरी विस्थापित हुनबाट जोगाउन सकिन्छ ।
प्रदेशसभा सदस्य श्यामराजा महतले किसानलाई प्राथामिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले किसान आत्मनिर्भर बन्दै गए नागरिकको जीवनस्तरमा सुधार हुनुका साथै मुलुकको अर्थतन्त्रलाई सबल र चलायमान बनाउन सकिने धारणा राख्नुभयो ।
गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्रालयका सचिव टङ्कप्रसाद प्रसाईँले गुणस्तरीय उत्पादनका आधारमा किसानलाई अनुदान दिने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताउनुभयो । अवैधानिक आयातलाई निरुत्साहित गरी स्थानीय उत्पादनको बजारीकरणमा स्थानीय र प्रदेश सरकारले नीति बनाएर कार्यान्यन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कृषिलाई रुपान्तरण गर्न आधुनिकीकरणमा जोड दिइनुपर्छ । बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन किसानको पुनःस्थापना कार्यक्रमलाई प्राथामिकता दिन आवश्यक छ, सचिव प्रसाईँले भन्नुभयो, वास्तविक किसानको पहिचान गरी विभिन्न तहमा वर्गीकरण गरेर बीमा र सहुलियतमा ऋण दिने व्यवस्था गर्न सके किसान लाभान्वित हुनुका साथै विस्थापितहरूलाई पुनःस्थापन गर्न सकिन्छ ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कृषिलाई संरक्षण र संवर्द्धन गर्न व्यावसायिक कृषि पेसालाई जोड दिनुपर्ने बताउनुभयो । कृषिलाई सुलभ ब्याजदरमा ऋण प्रवाह गर्न वर्गीकरण गरी उत्पादन परिणामका आधारमा अनुदान दिने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछाने र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा राजेशकुमार चौधरीले कार्यालयले वार्षिक रूपमा गरेका गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा जिल्लाका १० वटै पालिकाका व्यावसायिक किसान, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !