४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यो संविधान हामीले ल्याएका हौँ, संविधानको रक्षा हामी गर्छौँ : रमेश लेखक

प्रकाशित मिति :  २८ असार २०८१, शुक्रबार १४:१८


काठमाडौं । प्रतिनिधि सभा सदस्य रमेश लेखकले यति ठुलो बाढी पहिरोमा कति मानिसको ज्यान गयो भन्न समेत नसक्ने अवस्थामा सरकार रहेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मति माथिको छलफलमा बोल्दै लेखकले सरकारले आफ्नो दायित्व मात्र होइन भूमिका पनि खेल्न सक्नु पर्ने बताउनुभयो । सदनमा सरकारको उपस्थिति नहुँदा बैठक नै रोक्नु पर्ने दुखद स्थिति देशमा आएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले संसदमा पीडा र आक्रोस व्यक्त गर्नुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीका विरुद्ध ८० प्रतिशत मत पर्ने स्थिति संसदमा देखिएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीको बिचारको खण्डन गर्दा थप पीडित गर्ने भएकोले त्यस बारेमा आफूले कुरा नगर्ने उहाँले प्रष्ट पार्नुभयो ।

दुई ठुला दल मिल्दा लोकतन्त्र कमजोर हुन्छ कि भन्ने चिन्ता नगर्न उहाँले आग्रह गर्नुभयो । माओवादी जस्तो बलियो प्रतिपक्ष संसदमा रहेको उहाँले टिप्पणी गर्नुभयो । जबरजस्त प्रतिपक्ष हुने क्षमता भएको नेता प्रचण्डलाई प्रतिपक्षमा राख्दा लोकतन्त्र अझ बलिया हुने उहाँले बताउनुभयो ।

एमाले र कांग्रेसको सहमतिले देशलाई राजनीतिक स्थायित्व दिने आधार भएको उहाँले बताउनुभयो । ‘१८ महिनाको अवधिमा प्रधानमन्त्री पाँचौँ पटक विश्वासको मत लिन आउँदै हुनुहुन्छ, के राजनीतिक स्थिरता यही हो’, उहाँले भन्नुभयो ।

भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नको लागि कांग्रेस र एमालेको सहमति भएको उहाँले बताउनुभयो । भ्रष्टाचार नियन्त्रण अरूलाई धम्क्याउन र इस्टण्ड गर्नको लागि मात्र भएको उहाँले बताउनुभयो ।

राष्ट्रको विकास निर्माणको गतिलाई अघि बढाउने उद्देश्यका साथ पनि कांग्रेस र एमाले बिच सहमति भएको उहाँले बताउनुभयो । आर्थिक क्षेत्रलाई चलायमान गराउन दुई दल बिच सहमति भएको उहाँले दाबी गर्नुभयो ।

संविधान कार्यान्वयनमा आएको आठ वर्ष भएको बताउँदै लेखकले यो चलायमान दस्ताबेज भएको उहाँले बताउनुभयो । संविधानको संशोधन भनेको लोकतन्त्र र समावेशितालाई थप सुदृढ गर्न गर्न लागिएको उहाँले दाबी गर्नुभयो ।

लेखकले अहिलेको संविधान निर्माण र गणतन्त्र स्थापना नेपाली कांग्रेसको नेतृत्वमा भएको दाबी गर्नुभयो । त्यसैले समावेशिता, सङ्घीयता, गणतन्त्र कमजोर बनाइन्छ कि भन्ने काल्पनिक आशङ्का नगर्न उहाँले आग्रह गर्नुभयो । ‘जुन राजनीतिक स्थिरता मुलुकले बेहोरेको छ, त्यसलाई स्थिरता तर्फ लैजान चाहन्छौँ’, उहाँले भन्नुभयो ।

उहाँले संविधान छुनै नमिल्ने र पाठ गर्न बनाइएको विषय नभएको बताउनुभयो । संविधान आफैँले १० वर्ष पछि यसको पुनरावलोकन गर्नु पर्ने कुरा लेखेको लेखकले स्मरण गराउनुभयो । संविधान संशोधन सहमतिका आधारमा गरिने भए पनि त्यसको लागि कसै न कसैले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘यो संविधान हामीले ल्याएको हो, यो संविधानको रक्षा हामी गर्छौँ’, उहाँले भन्नुभयो ।

उहाँले दुईवटा पार्टी मिल्ने बित्तिकै तर्सिनु पर्ने र आत्तिनु पर्ने स्थिति नभएको बताउनुभयो । इतिहासमा यसरी ठुला पार्टी मिलेका उहाँले स्मरण गराउनुभयो । यसरी मिल्दा दुई ठुला पार्टीले देशलाई ठिक ठाउँमा लगेका उहाँले बताउनुभयो ।

मुलुकमा विशिष्ट राजनीतिक अवस्था आउँदा ठुला दल मिलेका र राम्रो परिणाम दिएका उहाँले बताउनुभयो । अहिले देखिएका सबै समस्या सम्बोधन गर्न नेपाली कांग्रेस र एमाले मिलेका उहाँले स्पष्ट पार्नुभयो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !