२३ पुष २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली महिलासँग कागजी बिहे, बैंकबाट करोडौं ऋण, जितेन्द्रकाे जताततै ठगी

प्रकाशित मिति :  ३ श्रावण २०८१, बिहीबार १३:५५


काठमाडौं । एक भारतीय नागरिकले नेपाली महिलासँग कागजी विहे गरेर विभिन्न बैंकबाट करोडौं रुपैयाँ ऋण लिएका छन् ।

जितेन्द्र सैनी नामक ती भारतीयले ज्योति (नाम परिवर्तन) नामकी महिलासँग विवाह गरेका छन् । ज्योतिका श्रीमान काठमाडौंकै नेवार समुदायका हुन् । ज्योति र उनकी श्रीमानले पहिले काठमाडौंको पुतलीसडकमा होटल चलाउँथे । त्यहिँ उनको ज्योति दम्पत्तीसँग चिनजान भयो । त्यसपछि सल्लाहमै ज्योतिका दम्पत्तीले पारपाचुके गरे । ज्योतिले जितेन्द्रसँग अदालती विवाह गरे ।

पारपाचुके कागजमा मात्र सीमित थियो । विवाहपछि ज्योति पहिलेकै श्रीमानसँग बसिन् । अहिले पनि पहिलेकै श्रीमानसँग छिन् । ज्योति र जितेन्द्रको विवाह ठगीको उद्देश्यले मात्र गरिएको जानकारहरु बताउँछन् ।

भारतीय जितेन्द्र विवाह पछि ‘नेपाली’ बने । ज्योतिको नाममा पायोनियर कमोडिटिज नामक खाद्यान्न कम्पनी खोलियो । बाहिर देखिने ज्योति, भित्र कारोबार गर्ने जितेन्द्र ।

केही जग्गा देखाएर ज्योतिको नाममा प्राइम कमर्सियल बैंकबाट जितेन्द्रले ४० करोड रुपैयाँ झिकेको बुझिन्छ । यति ठूलो रकम लगानी भएको व्यक्तिका बारे बैंकले खोजिनीति गरेको बुझिएको छ । खोजिनीति गर्दा पाइएको तथ्यबाट बैंक आत्तिएको बुझिन्छ । बैंक सम्बद्ध एक अधिकारीले भने– जितेन्द्रले पर्दा पछाडि बसेर काठमाडौंको सिभिल मलमा भिष्ट सहकारी पनि चलाइएको बुझिएको छ ।

जितेन्द्र र ज्योति मिलेर शिवशिखर सहकारीबाट २० करोड हाराहारीमा ऋण लिएको बुझिन्छ । शिवशिखर त्यही सहकारी हो जो अहिले बन्द छ र संसदीय छानविनको दायरामा परेको छ । जितेन्द्र र ज्योतिले खोलेको पहिलो कम्पनी चाहिँ एसडीजी ग्लोबल इम्पोर्टस् भएको थाहा भएको छ । यही कम्पनी देखाएर शिवशिखरबाट २० करोड ऋण लिएको बताइएको छ ।
जितेन्द्र र ज्योतिको जोडीले अन्य विभिन्न सहकारी र बैंकबाट पनि ऋण लिएको बुझिएको छ । अधिकांश ऋण ज्योतिको नाममा लिएको जानकारी बटुलिएको प्राइम बैंकका ती अधिकारीले बताए ।

प्राइम बैंकका अधिकारीहरु जितेन्द्र भारततिर भाग्ने डरले चिन्तित छन् । जितेन्द्र भागेको अवस्थामा ज्योतिबाट मात्र ऋण असुली हुन सम्भव छैन । जितेन्द्रले विभिन्न व्यक्तिलाई रकम नभएको खाताको चेक दिने गरेको प्रकरण पनि प्रहरीमा पुगेको छ । यस्तै प्रकरणमा जितेन्द्र केही पटक पक्राउ पनि परिसकेको बुझिन्छ । जानकारहरुका अनुसार जितेन्द्रले केही उच्च नेताहरुसम्म पहुँच बनाएका छन् । सोही पहुँचका आधारमा उनले ऋण नतिर्ने र थप ऋण लिने काम गरिरहेको बुझिन्छ । जितेन्द्रले रकम नभएको चेक भिडाएका एक पीडितले बताए अनुसार जितेन्द्रले भारतीय दूतावासलाई पनि प्रयोग गर्ने गरेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !