९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी

प्रकाशित मिति :  ५ श्रावण २०८१, शनिबार १४:१५


तनहुँ । जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष १६ लाख आम्दानी गर्नुभएको छ । नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उहाँले १६ लाख आम्दानी गर्नुभएको हो ।
ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताउनुभयो । ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी विसं २०७९ मा भारतको हैदराबादबाट ‘सी’ प्रजातिका बिरुवा ल्याएर खेती सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
मासिक २० हजार बुझाउने सम्झौता अनुसार २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक रुपमा खेती गर्दै आएको छु, गौलीले भन्नुभयो । अघिल्लो वर्ष १६ लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको जनाउँदै यस वर्ष फल राम्रो लागेकाले २० लाख बराबरको बिक्री हुने अपेक्षा गरेको छु ।
वैशाखदेखि ड्रागन फुल्न सुरु गर्छ, फूल फुलेको ६० दिनको अवधिमा पाक्छ र टिप्नलायक हुन्छ, उहाँले भन्नुभयो, “असारदेखि मङ्सिर छ महिनासम्म फल टिप्न सकिन्छ ।” यसवर्ष पहिलो छिमालमा ३५, दोस्रो छिमालमा एक हजार र तेस्रो छिमालमा एक हजार किलोग्राम ड्रागन फ्रुट टिपिसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रागन फ्रुट तेह्र छिमालसम्म टिप्न सकिन्छ ।
अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताउनुभयो । बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । “ड्रागन बिक्रीका लागि अन्यत्र लैजानु परेको छैन् । उत्पादित फल दमौलीमा नै खपत हुने गरेको छ”, उहाँले भन्नुभयो ।
गौलीका अनुसार फार्ममा दैनिक दुई जना कामदारले नियमित रोजगारी पाएका छन् । उत्पादित ड्रागन फ्रुट ग्रेडिङ गरेर प्रतिकिलोग्राम रु पाँचसयदेखि रु सात सयसम्म बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो ।
अवलोकनको रुपमा विकास हुँदै 
पछिल्लो समय गौलीको फार्म अवलोकन केन्द्रका रुपमा विकास हुँदै गएको छ । विद्यालय र कलेजका विद्यार्थी, शिक्षक तथा स्थानीय अवलोकन गर्न यहाँ आउने गरेका छन् ।
ड्रागन फ्रुटका बारेमा जानकारी लिन सरकारी कार्यालयका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसमेत फार्ममा आउने गरेका किसान गौलीले  बताउनुभयो । “फार्ममा ड्रागन फ्रुट पाकेको समयमा मानिसलाई भित्र पस्न दिने गरे पनि अन्य समयमा रोक लगाउने गरिएको छ”, उहाँले भन्नुभयो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !