लागुऔषधबाट युवालाई जोगाउन फुटबल प्रशिक्षण
प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १५:५९
भजनी (कैलाली) । कैलालीको टीकापुरका गजेन्द्र शाही फुटबल खेलाडीमा निकै परिचित नाम हो । राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडीसमेत रहनुभएका उहाँलाई टीकापुर क्षेत्रलाई चिनाउने व्यक्तिमध्ये एक मानिन्छ । अन्य थुप्रै लिगमा सहभागी भएर लिगको उपाधिसमेत दिलाउन सफल गजेन्द्र खेलकुद अनुशासनको एउटा पाठशाला भएको बताउनुहुन्छ ।
हामीमा सबैभन्दा पहिले चाहिने भनेको आत्मविश्वास र अनुशासन हो, जुन कुरा खेल क्षेत्रमा राम्रोसँग सिक्न पाइन्छ, उहाँ भन्नुहुन्छ, आत्मविश्वास र अनुशासन भएको व्यक्ति खेलकुद क्षेत्रमा मात्रै नभई हरेक क्षेत्रमा सफल हुनसक्छ । सक्रिय खेल जीवनबाट बिदा लिइसक्नुभएका गजेन्द्र यतिबेला स्थानीय क्षेत्रमा खेलाडी उत्पादनको काममा लाग्नुभएको छ ।
फोर्टिन जिआर एकेडेमीमार्फत एक सय ५० बालबालिकालाई उहाँले फुटबलको प्रशिक्षण गराउँदै आउनुभएको छ । उहाँको उद्देश्य समाज लागुऔषधका कारण आक्रान्त बन्दै दिनप्रतिदिन युवाहरू कुलतमा फस्दै गएको अवस्थामा खेलकुदका माध्यमबाट त्यस्ता कुलतमा लागेका र जोखिममा रहेका युवालाई बाहिर ल्याउने रहेको छ ।
व्यक्तिगत जीवनसँगै समाजका लागि केही राम्रो काम गर्ने दायित्व सबैमा हुनुपर्छ, आज जति पनि खेलाडी उत्पादन भएका छन् ती ग्रासरुटबाटै उत्पादन भएको पाइन्छ”, उहाँले भन्नुभयो, “अर्कोतिर साथी सङ्गतिको कारण कुलत तथा अन्य आपराधिक क्रियाकलापमा फस्न सक्ने सम्भावनालाई खेलकुदका क्षेत्रबाट कम गर्ने प्रयास गरेका छौँ ।
खेलाडी उत्पादनका क्षेत्रमा भएको प्रयासलाई राम्रो कामको सुरुआत भएको बताइएको छ । खासगरी युवा तथा वयस्कहरु लागुऔषध दुर्व्यसनीमा फस्दै गएका बेला उनीहरुलाई त्यो गलत बाटो बिर्सेर नयाँ जीवनको सुरुआत गर्ने क्षेत्र खेलकुद बन्न सक्ने सुदूरपश्चिम नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डा जगतबहादुर रावल बताउनुहुन्छ ।
खेल क्षेत्र अनुशासनको एउटा महत्वपूर्ण पाठशाला हो, जहाँ सम्भावनासँगै असल व्यक्तित्व निर्माण गर्न सकिन्छ, उहाँले भन्नुभयो, अर्कोतिर लागुऔषध दुव्र्यसनीबाट बच्नका लागि खेलकुद क्षेत्र समाजकै उपलब्धिको स्रोत बन्न सक्छ ।
लागुऔषध दुव्र्यसनी लगायत आपराधिक गतिविधिका कारण समाज जटिल अवस्थामा पुगेको भन्दै त्यसलाई सामान्य अवस्थामा ल्याउन खेलकुद क्षेत्र महत्वपूर्ण माध्यम हुने नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल बताउनुहुन्छ । उहाँले खेलकुद क्षेत्रमा राज्यको लगानी हुनुपर्नेमा पनि जोड दिनुभयो ।
अनुशासन र कडा परिश्रमले मात्रै उत्कृष्ट खेलाडीको जन्म हुने स्थानीय समाजसेवी राजकुमार हमाल बताउनुहुन्छ । “हाम्रो समाजमा दिनप्रतिदिन सुधार केन्द्र थपिँदै गएका छन्, यसलाई शुभ संकेत मान्न सकिँदैन, उहाँ भन्नुहुन्छ, जसरी सुधार केन्द्र थपिँदै गएका छन्, त्यसैगरी खेलकुदका गतिविधि थपिँदै जानुपर्छ, जसले युवा तथा वयस्क अझै भनौ अब आउने पुस्तालाई सहि मार्गमा डो¥याउन सकियोस् ।
इलाका प्रहरी कार्यालय टीकापुरको तथ्यांकले पनि सबैभन्दा बढी मुद्दा दर्ता लागुऔषधमा भएको देखाएको छ । पछिल्लो तीन वर्षयता वार्षिक ४० भन्दा बढी मुद्दा लागुऔषधमा दर्ता भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो । टीकापुर क्षेत्रमा खेलाडी उत्पादनका लागि गरिएको प्रयासले निकट भविश्यमा थुप्रै सम्भावना बोकेका खेलाडी राष्ट्रले पाउने विश्वास गरिएको छ ।
–रासस
0
Shares