२६ फाल्गुन २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सडक स्तरोन्नति सुरु भएसँगै  कोदारवासी खुसी

प्रकाशित मिति :  25 July, 2024 1:28 pm


भोजपुर । भोजपुर नगरपालिका–७ कोदारले सडकको स्तरोन्नतिमा प्राथमिकता दिएसँगै स्थानीयलाई सहजता भएको छ । विगतमा हिलाम्य हुने सडकको स्तरोन्नति गर्न वडाले काम थालनी गरेपछि स्थानीयलाई सहजता भएको हो ।
हिलाम्य सडकको स्तरोन्नति गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । सडक स्तरोन्नतिले दैनिकीमा सहजता भएको स्थानीयवासी भगवती तामाङले बताउनुभयो । सडक हिलाम्य हुँदा आवतजावतसँगै उत्पादित कृषि उपजको बजारीकरणमा समेत समस्या हुने गरेकामा अहिले सजहता भएको उहाँको भनाइ छ । सडक व्यवस्थित नहुँदा हामीलाई आवतजावतमा धेरै समस्या थियो,” उहाँले भन्नुभयो, “अहिले सबै टोलमा सडकको स्तरोन्नति गरिएपछि सहजता छ । हामीलाई दैनिक आवतजावतमा कुनै समस्या छैन् ।
स्थानीयको समस्यालाई ध्यानमा राख्दै वडाले बर्सातमा हिलाम्य हुने सडकलाई ढलान तथा ग्राभेल गरेर बाह्रै महिना सञ्चालन आउनेगरी स्तरोन्नति गरेपछि दैनिकीमा परिवर्तत आएको स्थानीयवासी हरिबहादुर महतले बताउनुभयो । सडकले गाउँघरको जीवनशैलीमा सहजता थपिएको उहाँको भनाइ छ ।
सडकको विकास गरिएपछि हामीमा उत्साह बढेको छ, उहाँले भन्नुभयो, हाम्रो क्षेत्रका मुख्य सडकमा आवतजावतमा समस्या छैन् । वडाले थालेको योजनाबद्ध विकासले हामीलाई खुसी लागेको छ । वडाभित्रका सडकलाई प्राथमिकताका साथ स्तरोन्नति तथा विकास गरिरहेको वडा वडाध्यक्ष जयबहादुर तामाङले बताउनुभयो ।
हालसम्म यहाँको करिब दुई किलोमिटर सडक ढलान  सम्पन्न गरेको उहाँको भनाइ छ । स्थानीयको आवतजावतमा सहजता थप्न वडाभित्र अधिकांश सडक ग्राभेल गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो । “मैले यहाँको वडाको योजनाबद्ध विकासमा जोड दिएको छु, वडाध्यक्ष तामाङले भन्नुभयो, यहाँका मुख्य सडकहरु प्रायः ढलान तथा ग्राभेल भएका छन् । सडक विस्तारसँगै किसानलाई आयआर्जनमा जोड्न तरकारी तथा नगदेबाली खेतीमा पनि जोड दिएका छौँ ।
सीमित बजेटमा पनि अधिकतम उपयोग हुने तवरबाट योजनाहरु सञ्चालन गरिरहेको वडाले जनाएको छ । स्थानीयको समस्यालाई ध्यानमा राख्दै यहाँका मुख्य सडकहरु करिब दुई सय मिटरबाहेक सबै सडक ग्राभेल गरिएको वडाको दाबी छ । नमूना वडा बनाउने लक्ष्यका साथ काम गरिरहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !