२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्वास्थ्यमन्त्रीको अस्तव्यस्त समय तालिका, आयोजकलाई अढाइ घन्टा कुराए

प्रकाशित मिति :  १२ श्रावण २०८१, शनिबार १८:०७


काठमाडौं । धेरैले आशा र महत्वका साथ हेरेका स्वास्थ्यमन्त्री प्रदिप पौडेलको दैनिक समय व्यवस्थापन कति फितलो छ भन्ने प्रमाण शनिबार वीर अस्पतालको १३५औं वार्षिकोत्सव समारोहबाट स्पष्ट भएको छ । प्रमुख अथितिका रुपमा विहान साँढे दस बजेका लागि निम्ताइएका मन्त्री पौडेल करिब अढाइ घण्टा ढिला अर्थात १ बज्नै लाग्दा वीर अस्पताल पुगे ।

मन्त्री पौडेल मन्त्री भएको केही दिन पछिदेखि नै पुल्चोकको मन्त्री क्वाटर बस्दै आएका छन भने उनले सम्हालेको मन्त्रालय वीर अस्पतालदेखि करिब एक किलोमिटर मात्र दुरीमा छ। तर मन्त्रीको समय तालिका भने मन्त्री नियुक्त भएदेखि नै फितलो देखिएको छ। उनले सचिवालयलाई समेत ब्यवस्थित गर्न सकेका छैनन् । उनको सचिवालयमा रहेकाहरुलाई कहाँ, कुन कार्यक्रम छ भन्नेसमेत जानकारी नहुने गरेको निकटहरु बताउने गर्छन् ।

वीर अस्पतालको कार्यक्रमा सहभागी एक चिकित्सकले आशा गरिएका मन्त्रीको फितलो समय व्यवस्थापनले स्वास्थ्य मन्त्रालयबाट आश गर्ने अवस्था कमजोर बन्न सक्ने आँकलन गर्दै भने,‘बिदाको दिनको कार्यक्रममा त मन्त्रीको समय यस्तो छ, अरु दिन के होला ? आयोजक र सहभागीहरुलाई कुराएर हैरान बनाउँदा सबैले आस गरेका मन्त्रीलाई आफै असहज हुनुपर्ने हो ।’

अस्पतालको वार्षिकोत्सवको उदघाटन गर्न मन्त्री पौडेल एक बज्न लाग्दामात्र अस्पताल परिसरमा पुगेका थिए । ‘मुलुककै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालमा करिब २२ सय कर्मचारी छन् । संभवत मन्त्री नियुक्त भएपछि उनको पहिलो पटक भब्य औपचारिक समारोह हुनुपर्छ । तर अढाइ घण्टासम्म मन्त्रीको उपस्थिति नहुँदा केही मिडियाकर्मी र सहभागी फिर्ता हुनुपरेको थियो,’ एक सहभागीले भने ।

पौडेलको सचिवालयले भने आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ५ मा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन गएका उनलाई सोही कार्यक्रममा आयोजकले तीन घण्टा ढिला गरी कार्यक्रम सुरु गरेका कारण वीरको कार्यक्रममा आउन ढिला भएको बतायो ।

‘विहान ८ बजेलाई कार्यक्रम तय भएको थियो तर ११ बजेमात्र सुरु भयो । मन्त्रीज्यूको समय व्यवस्थापन फितलो भएको होइन, आयोजकले समयमा ख्याल नगर्दा केही समस्या आएको हो,’ सचिवालयले प्रष्टिकरण दिंदै भन्यो । तर वार्षिकोत्सव समारोहलाई भनेर अस्पतालका चिकित्सक एवम स्वास्थ्यकर्मीहरु विरामीको उपचार छाडेर कार्यक्रममा सहभागी थिए । मन्त्री ढिला पुग्दा सहभागी भन्दापनि विरामीलाई सकस परेको थियो ।

स्वास्थ्यमन्त्रीको समय व्यवस्थापनबारे पत्रकार भिसा काफ्ले लेख्छन्, ‘दुई घण्टादेखि स्वास्थ्यमन्त्रीको पर्खाइमा वीर अस्पताल तर मन्त्रीको अझै अत्तोपत्तो छैन । मन्त्रीको औपचारिक कार्यक्रममा पहिलो पटक सहभागी, त्यो पनि साह्रै झुर ।’ त्यस्तै अर्का पत्रकार अर्जुन अधिकारी सामाजिक संजालमा लेख्छन्,‘प्रदिप पौडेलले स्वास्थ्यमा काम गर्दैनन् भन्ने स्पष्टै छ। वीरका कार्यक्रम अवमूल्यन गर्दै किथ्रे कार्यक्रम उद्घाटनमा होलान, उनको पर्खाइमा दुई घण्टादेखि वीरमा ।’

मन्त्रीको अस्तव्यस्त समय तालिका व्यवस्थापनमा सचिवालयले भूमिका खेल्नुपर्ने शुभेच्छुकहरुले सुझाव दिएका छन् । उनको सचिवालयमा मन्त्री नियुक्त भएको एक साता बढी हुँदासम्म जिम्मेवार ब्यक्ति को हो भन्नेसम्म तय भएको छैन् । यता, शनिबार नै च्यासलमा आयोजना भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आयोजकलाई डेढ घन्टा कुराएका थिए ।


339
Shares

प्रतिक्रिया दिनुहोस !