संसदको हिउँदे अधिवेशन निर्माणाधीन भवनमा गर्ने मन्त्री सिंहको चाहाना

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गर्नुभएकाे छ ।
मंगलबार बिहान मन्त्री सिंहले सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवन अनुगमन गर्नुभएकाे हाे ।
मन्त्री सिंहले संसद भवन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । उहाँले आगामी हिउँदे अधिवेशन यही भवनबाट सञ्चालन गर्न मिल्ने गरी कामलाई तीव्रता दिनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘यो ठुलो संरचना हो । यसलाई १० वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएपनि निर्माणमा समस्या देखियो । बीचमा विभिन्न समस्याहरु आए, कोरोनाको कारणले पनि संसद भवनको निर्माण रोकिएको हो । अब यसलाई समयमै सकाउनका लागि सिफ्टहरु त बढाउनुपर्छ नि । हामीले सधैं समयमै काम सम्पन्न गर्नका लागि भनिरहेका छौं । अब हामीले आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने चाहानामा राखेका छौं । यही अनुसार काम अगाडि बढाउनुपर्यो ।’
सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य भवन निर्माणको काम भइरहेको हो ।
सिंहदरबारस्थित पुतली बगैँचा रहेको ठाउँमा पाँच अर्ब ३० करोड रुपैयाँमा भवन निर्माणको काम अघि बढाइएको थियो ।
१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधि सभा र राष्ट्रिय सभा रहनेछ। भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनीले पाएको थियो ।