काभा भलिबल: भारतविरुद्ध नेपालको ऐतिहासिक जीत
काठमाडौं । नेपालले काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ ।
दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो ।
नेपाली महिला भलिबल टिमले पाँच वर्ष पछि पहिलो पटक भारतलाई पराजित गरेको हो ।
भलिबलमा एसियाकै जायन्ट मानिने भारतलाई नेपाली टोलीले ३–२ को सेटमा पराजित गर्दा स्पाइकरहरू सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारी एवम् लिबेरो सलिना श्रेष्ठले फाइनल स्पर्धामा उत्कृष्ट प्रदर्शन गरे ।
शनिबार नै भुटानको राजधानी थिम्पुमा नेपाली महिला टोली काभा बीच भलिबल च्याम्पियन बनेको थियो ।
नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गरेको थियो ।
आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५:१५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५:१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।