६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

लेबनानबाट नेपाली फिर्ता गराउन ट्रेड युनियन कांग्रेसको माग

प्रकाशित मिति :  २१ श्रावण २०८१, सोमबार १७:०५


काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले लेबनानबाट नेपाली नागरिकहरुलाई देश फर्काउन पहल नगरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

लेबनानमा आप्रवासी श्रमिकका रुपमा कार्यरत हजारौं नेपालीहरुलाई गम्भीर संकट सिर्जना नहुँदै तत्काल स्वदेश फर्काउनका लागि आवश्यक पहल गर्न नेपाल सरकार समक्ष महासंघले अपील गरेको छ ।

साथै, इजरायलको इरान, प्यालेस्टाइनसँग विद्यमान द्वन्द्वरत अवस्थामा समेत नेपाल सरकारबाट इजरायलमा पछिल्लो समय दुई हजार नेपाली कामदार पठाउने निर्णय अपरिपक्व एवं अमानवीय रहेको समेत महासंघको ठहर छ ।

तसर्थ, लेबनानमा कार्यरत नेपालीहरुलाई सुरक्षित उद्धार र द्वन्द्वरत इजरायलमा तत्काल नेपाली कामदार पठाउने कार्य रोक्न नेपाल सरकार समक्ष नेपाल ट्रेड युनियन काँग्रेस माग पनि राखेको छ ।

प्यालेस्टिनी विद्रोही समूहसँग युद्ध गरिरहेको इजरायलमा थप नेपाली केयर गिभर पठाउन वैदेशिक रोजगार विभागले यस अघि नै प्रक्रिया अगाडि बढाएको थियो । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत नै केयर गिभर छनोट गरी पठाउने प्रक्रिया अगाडि बढाइएको हो ।

इजरायलले २०२२ को अगस्टदेखि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा केयर गिभर लैजान थालेको हो ।

उता, लेबनान मामिला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकको विवरण संकलन गर्दै सतर्कता तथा सचेतना अपनाउन आग्रह गरेपनि स्वदेश फर्काउने प्रक्रिया अगाडि बढाएको छैन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !