८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बङ्गलादेशकी प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा, अन्तरिम सरकार बनाउने तयारी

प्रकाशित मिति :  २१ श्रावण २०८१, सोमबार १७:३१


काठमाडौं । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुभएको छ ।

देशमा विद्यार्थी आन्दोलन चर्किएपछि उहाँले राजीनामा दिएर देश छाड्नु भएको छ । हसिनाले राजीनामा दिएसँगै बङ्गलादेशमा अन्तरिम सरकार बनाउने तयारी सुरु भएको छ ।

बङ्गलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गर्नुभएको छ । बङ्गलादेशका राजनैतिक दलहरूसँग सेना प्रमुखले आयोजना गर्नुभएको छलफल पछि अन्तरिम सरकारको तयारी भएको हो ।

राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग सरकार गठन र आन्दोलनको  समाधानका विषयमा छलफल हुने बताइएको छ । उहाँले आन्दोलनकारीहरूलाई हिंसात्मक आन्दोलन स्थगित गर्न आह्वान गर्दै आन्दोलनमा ज्यान गुमाएकालाई न्याय पाउने आश्वासन दिनुभएको छ ।

आरक्षण पद्धतिको विषयलाई लिएर गत जुलाई १५ बाट बङ्गलादेशमा विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । हालसम्म सो आन्दोलन नियन्त्रणको क्रममा सरकारले ३ सय जनाको ज्यान लिइसकेको छ । आइतबार राति मात्रै एक सय आन्दोलनकारीले ज्यान गुमाएका छन् ।

आन्दोलन नियन्त्रण बाहिर गएपछि हसिनाले राजीनामा दिनुभएको हो । हसिना सैन्य हेलिकप्टरबाट भारतमा शरण लिन पुगेको बताइएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !