अर्थतन्त्रबारे जानकारी दिन साक्षरता अभियान जरुरी : डा.महत

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्नुभएकाे छ ।
अक्ष ज्योति प्रालीको आयोजनामा काठमाडौँ स्थित पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्दै डा.महतले देशभर साक्षरता अभियान लैजान आवश्यक भएको बताउनुभयाे ।
‘युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन यस्तो अभियान देशभर लैजान जरुरी छ । कानुनले दिएका कयौँ सुविधाको विषयमा युवाहरूलाई जानकारी गराउन नसक्दा समस्या सिर्जना भएको छ । यस्तो कार्यक्रमले युवाहरूलाई सचेत बनाउन सहयोग गर्छ ’उहाँले भन्नुभयाे ।
महतले विद्यार्थीले क्याम्पसमा पढ्दादेखि नै भविष्यमा के गर्ने भन्ने योजना बनाउनु पर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे,‘धेरै युवाहरूलाई विदेशमा मात्रै भविष्य छ भन्ने लाग्ने गरेको छ । त्यो सत्य होइन । मैले पनि अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेको थिए,’ महतले भने, ‘विदेश ३० सेकेन्डको टिकटक वा रिल बनाए जस्तो सजिलो छैन् । नेपालमा कयौँ काम हुन बाँकी रहेकाले यहाँ ठुलो अवसर छ ।’
सोमबार पब्लिक यूथ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा आयोजित आर्थिक साक्षरता अभियानलाई राष्ट्रिय वाणिज्य बैङ्कले सहयोग गरेको थियो । अभियान अन्तर्गत पब्लिक यूथ क्याम्पसमा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो ।