६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पुरानो ढर्राले हुलाक चल्दैन, टेलिकमको गुणस्तर सुधार्न सक्षम नेतृत्व चाहिन्छ : पृथ्वीसुब्बा गुरुङ

प्रकाशित मिति :  २७ श्रावण २०८१, आईतवार १०:५७


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनु भएको छ ।

यसैगरी गुरुङले टेलिकमको सेवा सुधारका लागि पनि सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

पोखरास्थित हुलाक निर्देशनालयको शनिबार निरीक्षणपछि मन्त्री गुरुङले पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताउनु भयो । गुरुङले हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेको  बताउँदै यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताउनुभयो ।

दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधैँ सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘पुरानो ढर्राबाट अब हुलाक सेवा चल्नेवाला छैन, तत्कालै परिवर्तन गर्न सकिने अवस्था पनि छैन, बिस्तारै हुलाक सेवालाई प्रविधिमैत्री बनाउने योजनासहित काम अघि बढाइएको छ,’ गुरुङले भन्नुभयो ।

त्यस्तै पोखरास्थित टेलिकमको प्रादेशिक तथा जिल्ला कार्यालयको शुक्रवार निरीक्षण गरेपछि गुरुङले टेलिकमको सेवालाई समय सापेक्ष ढङ्गले रूपान्तरण गर्दै लैजानुपर्ने बताउनुभयो । आफ्नो ध्यान सक्षम नेतृत्व र चुस्त व्यवस्थापनतर्फ रहेको उहाँले बताउनुभयो ।

अहिलेको अवस्थाबाट नेपाल टेलिकमलाई सुधार गर्न सकिएन भने आउँदा केही वर्षमा टेलिकम संकटमा पर्ने उहाँले बताउनुभयो । टेलिकमको आम्दानी घट्दै जानु चिन्ताको विषय भएको गुरुङले बताउनुभयो ।

उहाँले एक वर्षभित्रमा टेलिकमलगायत संस्थामा नीतिगत र व्यवस्थापकीय सुधार गर्ने गरी मन्त्रालयले योजना बनाएको उहाँले जानकारी दिनुभयो । नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्त गर्ने बेला मन्त्री गुरुङले सक्षम नेतृत्व र चुस्त व्यवस्थापनको मार्गचित्र बनाइएको प्रष्ट पार्नुभयो ।

गुरुङले इन्टेरनेट सेवाको विस्तारले नेपाल टेलिकमको भ्वाइस तथा डाटाको प्रयोग कम हुँदै गएको उल्लेख गर्दै टेलिकमले सोही किसिमको प्रविधि र जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो । डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिएको उहाँले जानकारी दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !