देश नाजुक अवस्थामा पुग्यो, बीपीको सिद्धान्त कार्यान्वयन गरौं : डा. कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले मुलुक अहिले अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन् ।
आइतबार लेखक तथा साहित्यकार प्राध्यापक डा.कुल प्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो बाटो आफ्नै पाइला’ र ‘एक्काको जोडा एक्का’ नामक पुस्तकहरू लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले राष्ट्रियता र प्रजातन्त्रलाइसँगै लिएर जाने वीपीको सिद्धान्त कार्यान्वयन गर्न नसके नेपाल र नेपाली नै नरहने जिकिर गर्नुभयाे ।
देशमा उठ्ने राजश्वभन्दा बढी चालूखर्च हुने गरेको भन्दै कोइरालाले यसमा सुधार गर्न आवश्यक रहेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘देश अत्यन्त नाजुक अवस्थाबाट गुज्रिरहेको छ । ११ अर्ब राजस्व देशमा उठ्छ । १४ खर्ब खर्च हुन्छ । त्यो पनि विकास खर्चमा नभई चालु खर्च भइरहेको छ । यसमा सुधार गर्न आवश्यक छ । त्यस्तै संविधानमा समेत केही सुधारहर गर्नु आवश्यक छ । यसका लागि नेपाली कांग्रेसले समेत गहन रुपमा छलफल गरिरहेको छ । सरकारले जसरी पनि संविधानमा सुधार गर्न आवश्यक कुराहरु गरिहाल्नुपर्छ,’ उनले अगाडि भने,‘उतिबेला राजनीतिक अवस्था दक्षिण एसियामा हलचल भइरहेका बेला बीपी नेपाल फर्किनुभयो । केही सुधारका काम गर्नुभयो । कांग्रेसको बैठकमा समेत मंैले यो कुरा उठाएको छु ।
राष्ट्रियता र प्रजातन्त्रलाई सँगै लिएर जानुपर्दछ नत्र देश र हामी रहदैनौं भन्ने वीपीको विचार थियो । अहिलेको राजनीतिक घटनाक्रमहरु हेर्दा पहिलेको जस्तै स्थिति सिर्जना भइरहेको त छैन भन्ने कुरा मनमा लागि रहेको छ ।’
बंलादेशमा घटेको घटनालाई आम नेपालीहरु गम्भीर रुपमा लिएको उल्लेख गर्दै उनले वीपी नेपाल फर्किनुभएको अवस्था भन्दा खराब स्थितिमा रहेको बताउनुभयाे ।
‘वीपी कोइराला फर्किनुभएको बेलाको भन्दा पनि स्थिति खराब छ कि भन्ने मलाई लागिरहेको छ । यस्तो बेलामा सरकार परिवर्तन गरेका छौं । राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि संसदका दुई ठुला दलहरु एक ठाउँमा उभिनुपर्छ भन्दै आएका थियौं । अहिले एमालेको नेतृत्वमा सरकारमा गएका छौं,’ उनको भनाइ छ ।