१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नीति पालना नगर्ने सदस्यलाई सभाबाटै निकाला गर्नुपर्छ : सदस्य गौतम

प्रकाशित मिति :  ३० श्रावण २०८१, बुधबार १४:०३


काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सदस्यहरुले नीति पालना नगरे सभाबाटै विदा गर्नेगरि नीति ल्याउनुपर्ने बताउनुभएकाे छ ।

बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्नेबारे सरोकारवालाहरुसँगको छलफलमा उनले मुलुकमा सुशासन कायम गर्न प्रतिनिधि, राष्ट्रिय सभा र प्रदेश सभाहरुमा समेत नीति कार्यान्वयन नगरे पदबाट विदा हुनेगरि नीति ल्याउनुपर्ने बताउनुभयाे ।

सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सदाचार नीति अपरिहार्य रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयाे, ‘राष्ट्रिय सभाका सदस्यहरुको सदाचार नीति के हुन्छ ? यदि त्यो पालना गरेको छैन भने राष्ट्रिय सभाबाट विदा हुनुपर्दछ । प्रतिनिधि सभा, प्रदेश सभा लगायत कुन ठाउँमा त्यस्तो छ त्यही हुनुपर्दछ ।

हामी सुशासन कायम गर्न चाहान्छौं । हामी हाम्रो संस्कृतिलाई उन्नत बनाउने र सभ्य बनाउन चाहान्छौं भने त्यसका लागि कँहि न कँहिबाट जोडबल दिन आवश्यक छ । सभ्य र सुसंस्कृत नेपाली जनताको लागि हामीले सदाचार नीति आवश्यक छ यसमा गहन छलफल हुनुपर्दछ ।’

समाज, विद्यार्थी, सुरक्षा लगायतका क्षेत्रहरु तोकेर सदाचार नीति बनाउनुपर्ने उल्लेख गर्दै उहाँले यसका लागि विज्ञहरुसँग छलफल गर्नुपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘आचरण र आचारसहिंता व्यक्तिले लागु गर्ने हो । संस्थालाई पनि व्यक्ति मानेर गराउनुपर्छ । यो संस्थाले पालना गर्नुपर्ने भनेर व्यक्तिलाई जसरी भन्न सकिन्छ । सधैंभरि हामी यसबारे छलफल गर्ने तर नहुने हो भने राष्ट्रिय सभाले केही विज्ञहरुलाई अगाडि सारेर सदाचार नीति नै बनाउनुपर्छ । परिवार, विद्यार्थी, सेना प्रहरी र कर्मचारीहरुको लागि जस्तै क्षेत्रहरु तोकेर सदाचार नीति लागु गर्नुपर्दछ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !