माओवादीले ४–४ पटक सरकारको नेतृत्व गर्दा समेत शान्ति प्रक्रियाको राम्रो परिणाम दिन सकेनः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारको नेतृत्व गर्दा समेत शान्ति प्रक्रिया टुंग्याउन नसकेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उहाँले राजनीतिक दाउपेचका कारण शान्ति प्रक्रियाका कामलाई अल्झ्याइएको आरोप लगाएका हुन् ।
उहाँले भन्नुभयाे, ‘२०६३ साल मंसिर ५ गते नेपाल सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको मुख्य राजनीतिक कार्यभार अन्तरिम संविधान, संविधान सभा, गणतन्त्र घोषणा, नयाँ संविधान पूरा भयो, छिटपुट असन्तुष्टिकाबीच व्यवस्थापकीय कार्यभार लडाकु र हातहतियार व्यवस्थापन पनि पार लाग्यो, विगतमा फर्किन नचाहे पनि राजनीतिक दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्वपूर्ण काम वर्षाैसम्म अल्झ्याइयो, तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारमा नेतृत्व गर्दा र कांग्रेसले पटक पटक सरकारको नेतृत्व गर्दा पनि परिणाम दिने गरि काम हुन सकेन् ।’
उहाँले राजनीतिक स्वार्थ र दलीय भागबण्डाको आधारमा टिआरसीसम्बन्धी आयोग बनाइ ऐन कार्यान्वयनमा समस्या आउनेतर्फ सचेत गराए ।
उहाँले आयोगलाई नाममा मात्रै नभएर काममा पनि स्वतन्त्र र निष्पक्ष बनाउनको लागि अपिल गरेका छन् ।