२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रवि लामिछाने पार्टी भित्र अपराध ढाकछोप गर्दै, हैकमी निरङ्कुश शासन चलाउँदै : मुकुल ढकाल

प्रकाशित मिति :  ३१ श्रावण २०८१, बिहीबार १५:३१


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट कारबाहीमा पर्नुभएका मुकुल ढकालले सो पार्टीका सभापति रवि लामिछाने पार्टीको विधि विधान विपरीत चल्नु भएको आरोप लगाउनुभएको छ ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै ढकालले सो पार्टीले आफूमाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी आफूलाई उल्टै स्पष्टीकरणको पत्र पठाउनु विधि विधान विपरीत भएको बताउनुभएको छ । ‘थिति विहीन हैकमी निरङ्कुश शासन चलाइरहेको स्पष्ट हुन्छ’, उहाँको लामिछानेमाथि आरोप छ ।

आफूले आजसम्म लामिछाने वा अरू कुनै पनि नेतालाई झुटो आरोप लगाएको ढकालले स्पष्ट पार्नुभएको छ ।  आफू ममाथि स्पष्टीकरण सोध्नु अघि लामिछाने आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्ने उहाँले चुनौती दिनुभएको छ । नैतिक रूपले पतित नभएको भए आफ्ना प्रश्न जबाफ दिन पनि उहाँको चुनौती छ ।

‘सहकारी ठगी मुद्दामा तपाईँ माथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने तपाईँले आजको दिन सम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक पटक ढाँट्नु भएको छ, म स्वयंले पनि तपाईँको ढाँटलाई सत्य मानेर बसिरहेको थिएँ तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारदा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईँ माथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ, सर्वोच्च अदालतको फैसलालाई तपाई मान्ने कि नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने आट छ रवि लामिछाने ज्यू ?’, ढकालले लामिछाने माथि प्रश्न गर्नुभएको छ ।

उहाँले लामिछानेले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको बताउँदै आफ्नो अपराध लुकाउन लामिछानेले कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो भन्ने कुरा घाम जस्तै छर्लङ्ग रहेको उहाँले उल्लेख गर्नुभएको छ । ‘यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ, विद्यमान ऐन कानुन अनुसार तपाई मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ, तपाईँले विगतमा गरेको अपराधका लागी पार्टी बलि चढ्नु पर्ने आँट छ भने, आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस् आँट छ रवि लामिछाने ज्यू ?’ढकालले प्रश्न गर्नुभएको छ ।

(नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको लामिछानेले गृह मन्त्रालय समाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नु भयो ? भनि उहाँले प्रश्न गर्नुभएको छ । कार्यसम्पादन मूल्याङ्कनमा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा लामिछानेले गरेको चलखेल भ्रष्टाचारको सङ्केत भएको उहाँले लेख्नु भएको छ । ‘आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरूको बैँक स्टेटमेन्ट सार्वजनिक गर्नुहोस्। आट छ रवि लामिछाने ज्यू ?’ उहाँको चुनौती छ ।

यी बाहेक पनि थुप्रै प्रश्नहरू बाँकी रहेका बताउँदै ढकालले समीक्षा प्रतिवेदनमार्फत पनि कैयन प्रश्नहरू जनताले सोधिरहेका बताउनुभएको छ । ‘जनताका यी सबै प्रश्नको जबाफ दिने आट गर्नुहोस्, आफूमाथि लागेका आरोपउपर निष्पक्ष स्वतन्त्र छानबिन समिति गठन गर्ने आट गर्नुहोस्’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा राख्नु भएको स्पष्टिकरणपत्रमा उल्लेख छ ।

आज पार्टीको छवि आफ्नो कारणले नभई सभापति रवि लामिछानेको कारणले धुमिल हुँदै गएको उहाँको दाबी छ । नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बिउ रवि लामिछानेका कारणले नाश हुँदै गइरहेको उहाँको टिप्पणी छ । ‘पार्टी जोगाउने मौका दिनुहोस्, वैकल्पिक राजनीति अघि बढाउन मार्ग प्रशस्त गरिदिनुहोस्, पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु, तपाईँले प्रत्येक पटक भाषण गरेका कुरा आज व्यवहारमा देखाइदिनुहोस्’, उहाँले लख्नु भएको छ ।

ढकालले पार्टी स्थापना भएदेखि पाटीलाई हानी हुने, पार्टीका शुभचिन्तकलाई भड्काउने, पार्टी भित्र भ्रम सिर्जना गर्ने, पार्टीका नेताहरू माथि झुटा आरोप लगाउने जस्ता क्रियाकलाप नगरेको स्पष्ट पार्नुभएको छ । उहाँले आफू पार्टी स्थापना हुनु अगाडीबाट नै वैकल्पिक शक्तिको रूपमा पार्टीलाई उभ्याउन लागिरहेको लागिरहेको र लागिरहने स्पष्ट पार्नुभएको छ ।

यस अघि पनि आफ्ना पत्र पार्टीमा दर्ता नगरिदिएको कारण, सार्वजनिक रूपमा नै पत्र दर्ता गराइदिन अनुरोध गर्न बाध्य भएको भन्दै उहाँले सामाजिक सञ्जाल मार्फत नै स्पष्टीकरण दिनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !