७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एकीकृत समाजवादीका कोसी प्रदेश कमिटीका दुई जना सदस्य सहित एमाले फिर्ता

प्रकाशित मिति :  ४ भाद्र २०८१, मंगलवार १४:३८


काठमाडौं । नेकपा एकीकृत समाजवादीका कोसी प्रदेश कमिटीका दुई जना सदस्य सहित नेकपा एमालेमा फर्कनु भएको छ ।

झापाका ६७ जना नेता कार्यकर्ता एमाले फर्कनुभएको हो । झापा निर्वाचन क्षेत्र नं ५ बाट ६७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।

मेची बहुउद्देश्यीय सहकारी संस्था दमकको सभा हलमा मंगलबार पत्रकार सम्मेलन गरी नेकपा एकीकृत समाजवादीका कोसी प्रदेश कमिटी सदस्यहरू राजेन्द्र दाहाल, मणि भण्डारी सहितका जिल्ला, नगर, पालिका र जनसंगठनका ६७ जना नेता कार्यकर्ता एमालेमा फर्कनु भएको हो ।

पार्टी प्रवेश गर्नेमा दमक नगरको पूर्व अध्यक्ष एवं जिल्ला कमिटी सदस्य महेश घिमिरे, जिल्ला सदस्यहरू चन्द्रकला भण्डारी, शशिराज पौडेल, तोया सापकोटा, हरिकृष्ण पौडेल, खगेन्द्र बाह्रकोटी, राम लुइँटेल र चन्द्रमणि अधिकारी हुनुहुन्छ । त्यस्तै एकीकृत समाजवादी समाजवादी निकट अनेरास्वीयु केन्द्रीय सचिवालय सदस्यहरू रोशन भण्डारी, मदन गुरुङ, एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य उमेश चम्लागाई, समाजवादी पार्टीको दमक नगर सचिवालय सदस्य चन्द्रमणि थापा, खेलकुद महासंघ झापा कोषाध्यक्ष सुदिप सागर भट्टराई, अनेरास्वियु दमक क्याम्पस समिति पूर्वअध्यक्ष आयुष्मान् पोखरेल, अखिल फोर्स दमक नगर संयोजक रतन चाम्लिङ्ग राई, सहसंयोजक सागर ढकाल, अनेमसंघ नगर सदस्यहरू जमुना लिम्बु र रेणुका ढुङ्गाना दाहाल पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

समाजवादीकै अखिल फोर्स नगर संयोजक रतनको नेतृत्वमा नगर समितिका १७ जना, अनेरास्वियु दमक क्याम्पस समितिका अध्यक्ष रवीन अधिकारी सहित १५ सदस्य र तोया सापकोटाको अगुवाइमा कमल गाउँका समाजवादी जिल्ला समिति सदस्य र पार्टी सदस्य १६ जना समाजवादी पार्टी छोडेर एमाले प्रवेश गरेको एमाले दमक नगर अध्यक्ष राम पौडेलले जानकारी दिनु भयो ।

उहाँहरूलाई एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली, केन्द्रीय सदस्य दीपक कार्की लगायतले पार्टीमा स्वागत गर्नुभयो । एमाले फर्कनु भएका दाहालले कार्यक्रममा बोल्दै हावाहुरी आएको बेला एमाले छोडेर गए पनि एकीकृत समाजवादी पार्टीको भविष्य नरहेकोले पुरानै पार्टीमा फर्किएको बताउनुभयो ।

उहाँहरूलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिने एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज ओलीले स्पष्ट पार्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !