२७ श्रावण २०८३, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले मनाए गाईजात्रा

प्रकाशित मिति :  20 August, 2024 4:54 pm


काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा देशभरबाट समूदायका व्यक्तिहरु भेला भएर कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि भेला भई गौरव यात्रा गरेका हुन् ।

गौरव यात्रामा सहभागी भई महिला तथा बालबालिकामन्त्री नवल किशोर सुडीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको हक अधिकारको सवालमा आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । उनले लैङ्गक अल्पसंख्यक समूदायको सम्पूर्णको अधिकारको लडाइमा सरकारको समर्थन गरेको विश्वास दिलाए ।

उहाँले भन्नुभयाे,‘यो समुदाको जुन अधिकार छ त्यो त्यसका लागि मैंले जे जति सहयोग गर्नुपर्छ त्यसका लागि सरकारको तर्फबाट पुरा गर्ने आश्वासन दिन चाहन्छु । अधिकारको लडाईमा सरकार साथमा छ ।’

त्यस्तै नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ्गले आफ्नो समुदायको व्यक्तिहरु दिवङ्गत हुँदासम्म उनीहरुको परिवारहरुले नहेर्ने अवस्था रहेको भन्दै नेवारी समुदायले आफ्नो परिवारको सदस्य दिवङ्गत हुँदा श्रद्धा सुमनस्वरुप घरबाट गाईजात्रा निकाले जस्तै आफ्नो समुदायको दिवङ्गतहरुको श्रद्धा सुमनको लागि गाईजात्रा मनाउन सुरु गरेको जानकारी दिइन् ।

उहाँले भन्नुभयाे,‘समुदायको साथीहरु धेरै दिवङ्गत हुनुभयो । तर उहाँहरुको आफ्नै परिवारले पनि दाहसंस्कार गर्न मान्नुभएन । त्यसैले नेपालमा नेवारी समुदायले आफ्नो परिवारको सदस्य दिवङ्गत हुँदा श्रद्धासुमनस्वरुप घरबाट गाईजात्रा निकाल्नुहुन्छ त्यसरी समुदायका साथीहरु धेरै दिवङ्गत भएपछि समुदायले नसझिएपछि संस्थाले सम्झनुपर्छ भनेर गाईजात्रा मनाउन थालेका हौं ।’

गौरव यात्रा वसन्तपुर डबलीमा दिवङ्गत व्यक्ति र नायकहरूको जीवनको सम्झनामा मैनबत्ती बालेर समापन भएको छ । गाईजात्रामा मौलिक पोसाक, संस्कृती, बाजागाजासहित उनीहरु उपस्थित भएका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !