प्रहरी समायोजनको प्रक्रिया अघि बढीसकेको छः गृहमन्त्री
जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून नै बनाउन लागिएको बताउनुभएकाे छ ।
सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रहरी सम्बन्धमा नयाँ कानून बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसदमा पेश हुने बताउनुभएकाे हाे ।
प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु धमाधम हुने उहाँको दावी छ । वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति शुव्यवस्था र विधिको शासन कायम हुने उहाँको भनाई छ ।
उहाँले राजनीतिक स्थितरता, आर्थिक गतिविधी बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशीता सहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमान सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उहाँको भनाइ रहेको थियो ।