२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ : केपी ओली

प्रकाशित मिति :  १० भाद्र २०८१, सोमबार १८:३७


काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँग समस्या देखिनु सामान्य भएको बताउनुभएको छ ।

पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको सोमबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्ता विषयमा खुलस्त रूपमा संवाद गरेर समाधान खोज्नु पर्ने बताउनुभयो । जायज र न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समस्याको समाधान खोज्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालले सन्तुलन, इमानदारिता र पक्षधरता विहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्ने पक्षमा रहेको उहाँले बताउनुभयो । ‘हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ, कसैको कुभलो चिताउँदैनौँ, हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ’, उहाँले भन्नुभयो ।

नेपालले संयुक्त राष्ट्र संघको सिद्धान्त पालना गर्ने प्रतिबद्धता उहाँले दोहोर्‍याउनुभयो । त्यसको उलङ्घन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ, तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ, हामी विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील छौँ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन भूराजनीतिक प्रभाव भन्ने सोच उचित नहुने बताउनुभयो । राष्ट्रलाई सीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन उहाँले आग्रह गर्नुभयो ।

ओलीले नेपाल र भारतबिचको शीर्ष तहको सहमतिबाट सन् १९५० को सम्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गर्नुभयो । सीमा विवाद लगायतका विषयमा थप संवाद गर्न सहज हुने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्धी हुनु युगान्तकारी काम भएको बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !