८ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

याेगेश भट्टराईले १० वर्षे हिंसा भनेपछि प्रतिनिधि सभामा माओवादीकाे विराेध

प्रकाशित मिति :  १२ भाद्र २०८१, बुधबार १५:४३


काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद् योगेश भट्टराईले माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेपछि माओवादीले विराेध गरेकाे छ ।

बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्ने क्रममा सांसद् भट्टराईले माओवादीकाे १० वर्षे हिंसा नभएकाे भए लोडसेडिङ अन्त्यका लागि ०७५ साल कुर्नु नपर्ने बताउनुभएकाे थियाे ।

त्यसपछि माओवादी सांसद् माधव सापकाेटाले नियमापत्ति जनाउनुभयाे । उहाँले माओवादी हिंसा भन्ने भनाई रेकर्डबाट हटाउन र साे शब्द फिर्ता लिन माग गर्नुभयाे ।

सांसद भट्टराईले भन्नुभयाे – ‘त्यो हिंसा नै हो र त्यो हाम्रो परिभाषा हो ।’ त्यसपछि माओवादीका अरू सांसद पनि उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले याे विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै माओवादी सांसद्लाई बस्न आग्रह गर्नुभयाे । तर माओवादी सांसद् टसमस भएनन् ।

माओवादी सचिव देवेन्द्र पौडेलले माओवादी आन्दोलनलाई हिंसा भनिएकोमा आपत्ति जनाउँदै सो शब्द फिर्ता लिन माग गर्नुभयाे । तर एमाले सांसद् भट्टराईले दाेहाेर्‍याउनुभयाे – ‘हिंसै हो नि सभामुख महोदय, हिंसा हो, हिंसाबाहेक केही होइन ।’

त्यसपछि माओवादी सांसद्हरु अझ आक्रामक भए । उनीहरुले हाेहल्ला गरेपछि एमाले सांसद् भट्टराईले धम्की दिएर कोही पनि नडराउने बताउनुभयाे ।

एमाले र मा‌‌ओवादी सांसद्‍बीच केहीबेर भनाभन चलिरह्याे सभामुख घिमिरेले पटकपटक बस्न आग्रह गर्दा पनि उनीहरुले टेरेनन् ।

सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बाेल्न समय दिनुभयाे । पाण्डेले सदन नियमावली अनुसार नचलेकाे आराेप लगाउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !