३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

परराष्ट्रमन्त्री आरजु देउवा र क्यानडेली विदेशमन्त्री जोलीबीच द्विपक्षीय भेटवार्ता

प्रकाशित मिति :  ३ आश्विन २०८१, बिहीबार ११:४४


काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र क्यानडेली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सोही भेटवार्ताका क्रममा नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।

क्यानाडेली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री राणा क्यानडा पुगेकी हुन् । भेटका क्रममा उनीहरूले दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताएका थिए । नेपाल र क्यानडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् ।

भेटमा परराष्ट्रमन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगको प्रशंसा गरेकी थिइन् । नेपालको संसद्ले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू पनि पूर्ण हुने राणाले जानकारी गराउनुभएको थियो ।

साथै सो वार्तामा परराष्ट्रमन्त्री राणाले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पुर्‍याएको सहयोगका लागि क्यानडा सरकारलाई धन्यवाद ज्ञापन गरे । उहाँले भन्नुभयो, अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानडेली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ । नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानडाले पुर्‍याइ आएको आर्थिक सहायता तथा विकास साझेदारका रुपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री राणाले स्मरण गरिन् ।

त्यस अवसरमा मन्त्री राणाले नेपालमा क्यानडाको राजदूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह गरिन् ।

एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेशमन्त्री जोलीसमक्ष आग्रह पनि गरिन् ।

क्यानडेली विदेशमन्त्री पछिल्लो समयमा समावेशिताका साथै महिला अधिकारका क्षेत्रमा नेपालले गरेको प्रगतिको पनि प्रशंसा गरेकी थिइन् । त्यसैगरी उनले क्यानाडेली पेन्सन फन्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताइन् । उनले परराष्ट्रमन्त्री राणाले राखेको नेपालमा क्यानडेली दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया पनि दिनुभयो ।

हाल क्यानडामा नेपालीहरुको बढ्दो उपस्थिति खुसीको कुरा हो भन्दै मन्त्री जोलीले नेपालीहरू इमान्दार र काममा लगनशील भएको प्रतिक्रिया यहाँ उनीहरुको कामका कारण आफूले पाएको पनि सुनाउनुभयो ।

 


226
Shares

प्रतिक्रिया दिनुहोस !