९ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौँ : प्रचण्ड

प्रकाशित मिति :  १० आश्विन २०८१, बिहीबार १९:३३


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरू बिच एकताबारे चाँडै नै नयाँ समाचार सुन्न पाइने बताउनुभएको छ ।

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले आफूहरू समाजवादी मोर्चा र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा रहेको बताउँदै उहाँले केही समयभित्र नै पार्टी एकताको समाचार सुन्न पाउने बताउनुभयो । ‘हामी समाजवादी मोर्चालाई बलियो बनाउने, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा छौँ, मलाई विश्वास छ केही समयभित्र नै केही नयाँ समाचार सुन्नुहुनेछ, एकताको र मोर्चाको अभियानमा लागिरहेका छौँ, सम्मेलनले त्यो मोर्चामा आवश्यक नीति, योजना र कार्यक्रम गर्नेछ’, उहाँले भन्नुभयो ।

उहाँले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्ने पनि बताउनुभयो । ‘सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौँ, भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौँ, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत सहयोग गर्ने छ, यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्ने छ’, उहाँले भन्नुभयो ।

आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतिहासिक भएको दाहालले बताउनुभयो । भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको उहाँको भनाइ छ ।

विरोधीहरूले सधैँ षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरूको दायित्व हुने उहाँले बताउनुभयो । ‘हिजो जनयुद्धभरि एकपछि अर्को घेरा र दमन चलाइएको थियो, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो नीति थियो, अहिले पनि हामी त्यसरी अघि बढिरहेका छौँ’, उहाँले भन्नुभयो ।

संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिने जस्ता षड्यन्त्र हिजो पनि भएको दाहालले बताउनुभयो । ‘हामी सबै घेरा तोडेर आएका हौँ, अहिले फेरि प्रतिनिधि सभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौँ, त्यसका लागि तपाईँ विद्यार्थीहरू तयार हुनुहोला’, उहाँले भन्नुभयो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !